Madheshlive.com

राजपा नेताबीच स्वार्थ बाझिए, समानुपातिक सूची विवादमा

264 पटक पढिएको

काठमाडौं, २४ पुस । राष्ट्रिय जनता पार्टी नेपालका नेताबीच स्वार्थ बाझिएपछि प्रदेशसभाको समानुपातिक सूची विवादमा परेको छ । अचम्म के भएको छ भने निर्वाचन आयोगले सूची सच्याउन पत्र काटेको काट्यै छ, तर राजपाका नेता सच्चाउने पक्षमा छैनन् ।

राजपा नेपालमा रहेका छजना अध्यक्ष मण्डलका सदस्यले आ–आफ्नै मान्छे पर्नै पर्ने अडान लिएपछि समानुपातिक सूची सच्याउन गा्रहो भैरहेको छ । राजपा नेपालले आफुले प्राप्त गरेको १० जनाको समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएको थियो । सो सूची क्रमसँख्या तथा समावेशी समूह अनुसार नभएको भन्दै आयोगले सच्याउन पत्र पठाएको थियो ।

तर, राजपा नेपालले सूचीलाई संशोधन नै नगरिकन पुनः पुरानै सूची आयोगलाई बुझायो । राजपा नेपालले बुझाएको सूची आयोगले स्वीकृत गरेन । र, आयोगका अधिकारीले बुझ्न मानेनन् । त्यसपछि राजपा नेपालका नेताहरुले आफूले तयार पारेको सूची आयोगमा छाडेर हिँडे । त्यसपछि पनि आयोगले सूची नमिलेको भन्दै सच्याउन आग्रह गर्दै आएको थियो ।

त्यसमा पनि राजपाले सुनुवाई नगरेपछि आयोगले आइतवार फेरि पत्र पठाएको छ । पत्रको बारेमा राजपा नेपालले आज छलफल गर्दैछ । तर, सल्टाउन राजपालाई कठिन भैरहेको छ । ‘कसको नाम राख्ने, कसलाई हटाउने भन्नेमा दलका नेताबीच अन्योल देखिएको छ,’ राजपाका एक नेताले भने ।

सूचीमा नाम नपरेको भन्दै विनोद सिंहका कार्यकर्ता तथा सहयोगीले पार्टी कार्यालयमा तोडफोड नै गरेका थिए । पठाइएको नाम पनि नियमसंगत नभएको भन्दै आयोगले स्वीकार नगरेपछि नेताहरु अफ्ठारोमा परे । 

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आफूहरुले बुझाउनु पर्ने सूची बुझाई सकेको र अब त्यसमा केही संशोधन गर्ने अवस्था नरहेको बताए । उनले भने, ‘हामीले नियमावलीमा भएको व्यवस्था अनुसार नै समानुपातिकको सूची बुझाएका हौँ, आयोगलाई त्यसमा जे–जे गर्न मन लाग्छ, त्यो गर्छ ।’

यता निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने, ‘नियमावलीमा जे छ, त्यहीँ अनुसार आयोगले सूची बुझ्ने हो । नियमावली अनुसार भएन भने सफ्टवेयरले नै लिँदैन । जसको मिल्छ, त्यसको रिजल्ट आउँछ । जसको मिल्दैन, त्यो खाली हुन्छ ।’

राजपा नेपालले नामावली मिलाएर पठाउनेमा आफूलाई विश्वास लागेको उनले बताए । राजपा नेपालका अध्यक्ष मण्डलका अर्का सदस्य महेन्द्र राय यादवले आयोगले आफै नियम मिचिरहेका आरोप लगाए । उनले भने, ‘हामीले पठाएको सूची आयोगले स्वीकार गरेन भने हामी अदालत जान्छौँ, यो उपाय मात्र हामीसँग छ ।’

राजपाको एक सूत्र भन्छ, ‘अन्तिम समयमा राजपाले सूची सच्यायो भने पुरानो सूचीबाट रामप्रवेश बैठा, लैला खातुन, विभा ठाकुर र पुनम ठाकुरको नाम हट्न सक्छ । उनीहरु हटेपछि नेत्रविक्रम साह, निरा कुमारी साह, अल्का झा, डा।रिना यादवको नाम जान सक्छ ।’

यसमा नेत्रविक्रम साहलाई राजकिशोर यादवले सिफारिस गरेको, निराकुमारी साह र डा।रिना यादव राजेन्द्र महतोले र अल्का झा महन्थ ठाकुरले सिफारिस गरेक छन् । यदि बुझाएको सूचीमा हेरफेर गर्ने अबस्था आए राजपाले नयाँ उपाय खोज्न सक्छ । सूत्र भन्छ, ‘सूचीमा संशोधन गर्ने अबस्था नआए नेत्रविक्रम साह, निरा कुमारी साह, अल्का झा र डा।रिना यादवलाई पार्टीले कारवाही गरिसकेकाले यसको नाम पठाउन नसकिने भन्दैे आयोगलाई जानकारी पनि गराउन सक्छ ।’

यस्तो अबस्थामा दवावमा आयोग आउनेछ । 

- रातोपाटीबाट