Madheshlive.com

जातियता, राजनिति र जनधर्म – लीलानाथ श्रेष्ठ

306 पटक पढिएको

विश्व शक्ति अमेरीकाको उन्नति र वैभवको कारण केलाउँदा राजनीतिज्ञ तथा समाजशास्त्रीहरु भन्छन् त्यहाँ विविधताको संरक्षण र निष्पक्ष प्रतिस्पर्धामा आधारित समाज र कानून व्यवस्था छ । कुनै पनि समाजको उन्नति र विकास तव हुन्छ जव त्यहाँको विविधताको संरक्षण हुन्छ । किनकी विविधता नै सुन्दरता हो । एकल जातिय समाज र एकल जातिय नेतृत्व कुरुप हुन्छ । स्थिर हुन्छ । चलायमान हुँदैन । गतिशिल हुँदैन । समाज जहिले पनि गतिशिलता तर्फ उन्मुख हुनुपर्छ । त्यसका लागि प्रतिस्पर्धा जरुरी छ , विविधताको संरक्षण आवश्यक छ । जनकपुरमा राजपाका मेयरले जित्नासाथ पलायन भएका पहाडेलाई फिर्ता ल्याउँछु र विविधतायुक्त शहर बनाउँछु भन्ने प्रतिक्रिया दिएको हामीले सुनेका छौ । वल्ल उनीहरु वुझ्दैछन् जातिय विष वमनले अन्तत समाजलाई उजाँड बनाउँछ । कुरुप बनाउँछ । निकम्मा बनाउँछ ।  
नेपाली समाज र राष्ट्रमा अव न्याय र समानतामा आधारित समाजको जग बसाल्न आवश्यक छ । अन्यथा नेपाली समाज र यो राष्ट्रले अग्रगति लिनै सक्दैन । तर त्यसका लागि जातिय र सामुदायिक सद्भाव विथोलेर होईन । विविधता मासेर होईन । विगतमा मधेस आन्दोलनका नाममा केही अवाञ्छित तत्वहरुले हाम्रो सामाजिक सदभाव भत्काउन खोजे । पहाडे र मधेसी विच युगौ देखि कायम अन्योन्याश्रय सम्बन्धमा खलल पुर्याउन खोजे । समाजवाट विविधतालाई नष्ट गर्न खोजे । सामाजिक मिलाप र सुमधुरता कायम राख्ने कोमल सामाजिक तत्नुहरुलाई चुँडाउन खाजे । तर उनीहरु असफल भए । जातिवादको नारा नेपाली समाजले स्विकार गरेन । मधेसीले पनि गरेनन् र पहाडेले पनि गरेन । त्यसकारण उनीहरुले अहिले पुरानो नीति फेरे । पार्टीको नाम अगाडी तथा पछाडीवाट मधेस शव्द हटाए । पहाडेहरुलाई खोजी खोजी पार्टी भित्र ल्याए ।  समाजको विविधता नष्ट गर्ने र जातिय राजनितिको विष वमन गरेर आफ्नो निहित स्वार्थ पुरा गर्न खोज्ने पार्टी तथा नेताहरु पाखा लागे । जनतावाट अस्विकृत भए । मधेसी जनताले पनि उनीहरुलाई स्विकार गरेनन् । यद्यपी अहिले पनि उनीहरु दोहोरो मापदण्ड अपनाउँदैछन् । नेपाली समाजको आँखामा छारो हाल्ने प्रयत्न गर्दैछन् । पहाडतिर पहाडे नेतालाई उभ्याएर हामीले जातिवाद त्याग्यौं भनेर संदेश प्रवाह गर्न खोज्दैछन् भने मधेसमा मधेसीको नारा उचाल्दै छन् । यो दोहोरो मापदण्डले उनीहरुलाई निष्ठा र सिद्धान्तको राजनितिवाट अझै विमुख पारिरहेको छ ।
विरामी पर्दा सक्षम डाक्टरको खोजी गरेर उपचार गराउन गए जस्तै राजनितिमा सक्षम, ईमान्दार र जनसेवी चरित्रका नेतालाई खोजिनु पर्छ , रोजिनु पर्छ । जातको आधारमा डाक्टर  खोज्यो भने विरामी मर्छ । जातको आधारमा नेता चुन्दा समाज डुव्छ । नेता त्यो हो जसले व्यक्तिगत स्वार्थलाई राष्ट्र र जनताको स्वार्थको अगाडी महत्व दिदैन । नेता त्यो हो जसले दुरगामी सोंच राख्दछ । नेतृत्व सक्षम नभएकै कारण मधेस बिकासमा क्षेत्रिय असंतुलनको शिकार भयो । कर्णाली पनि पिछडियो । नेता सक्षम भएका स्थानहरुमा बिकासले गति लिएकै छ ।
नेता त्यो जसले विगतमा जनसेवामा समय खर्चिएको छ । जनताको लागि श्रम खर्चिएको छ । वैद्धिक क्षमताको प्रदर्शन गरेको छ ।  एउटा नेताले समाजलाई अग्रगतिमा लान सक्छ तर नेता असक्षम पर्यो भने क्षेत्र र समाज नै पछाडी पर्छ । जहाँ सवै थाक्छ त्यहाँवाट नेताको जोश जाँगर सुरु हुन्छ । वौद्धिक क्षमता र सत्चरित्र आचरण तथा व्यवहार भएका नेताले मात्र समाजलाई सही पथ प्रदर्शन गर्न सक्छ ।   त्यसकारण  जनताले नेता छान्दा वा मत दिँदा जात होईन नश्ल होईन ईमान्दारीता , सक्षमता र सेवाभावले ओतप्रोत व्यक्ति छान्नुपर्छ । प्रशिद्ध दार्शनिक आशोले महात्मा गान्धीको वारेमा वोल्दै भनेका थिए ‘ गान्धी जी जस्तो ईमान्दार नेता सत्तामा जानु पथ्र्यो उहाँले आफू सत्तामा नगएर वेईमानहरुको लागि कुसी खाली छोडिदिनु भयो ’ । अवको दिनमा राजनीतिलाई असक्षम र आपराधिक व्यक्तित्वहरु हातमा जान नदिन सक्षम तथा ईमान्दारहरु सत्तामा जानुपर्छ । जनताले पनि सक्षम र ईमान्दारलाई रोज्नुपर्छ । जातिय आधारमा मत माग्नु नै राजनितिक अपराध हो । वेईमानी हो । कुनै जात विशेषमा जन्मिदैमा उसले जनप्रतिनिधि हुने हक पाउँदैन ।
म लीलानाथ श्रेष्ठ जनसेवक हुँ । मैले ३० वर्षे राजनीतिक जीवनमा सिरहामा बसेर दैनिक जनताको सेवा र काम गरेको छु । मसंग सहयोगको अपेक्षा राखेर आएका कुनै पनि निरीह व्यक्ति समेत निराश भएर फर्किनु परेको छैन । सिरहामा जिल्ला विकास समितिको उप सभापति हुन्दा मैले गरेको बिकासका कामहरु वरे सिरहाली जनताले अनुभुति गर्नु नै भएको छ । मेरो ६ पुस्ता सिरहामै वितेको छ । यहाँको जन जीवन , संस्कृति , समाज र प्रकृतिसंग म अन्तरघुलित छु । त्यसकारण कसैले भन्दैमा जातिय आधारमा मलाई सिरहाली जनताले उपेक्षा गर्ने छैनन् भन्ने मलाई विस्वास छ । व्यक्ति को हो , कुन जात को हो भन्दा पनि कुन कित्तामा उभिएको छ भन्ने कुरा राजनीतिमा महत्वपूर्ण कुरा हो । २०४६ पछि को राजनितिक परिवर्तन पश्चात आएको खुला समाज र त्यस पछि जन्मेका नयाँ पुस्ता शिक्षित छन् । उनीहरुले आफ्नो मतको प्रयोग गर्दा आधुनिक ( नविनतम ) सोंच र जागरणलाई निश्चय नै प्रयोग गर्ने छन् । जातिय आधारमा होईन निष्ठा र सिद्धान्तको राजनीतिलाई रोज्ने छन् । उम्मेदवारको जात होईन छवि, चरित्र र योग्यतालाई हेर्नेछन् । यो मेरो अटल विस्वास हो ।