Madheshlive.com

नेपाली समाजको बनौट र रुपान्तरणको प्रकृया – लीलानाथ श्रेष्ठ

148 पटक पढिएको

एक तर्जे तगफ्फूल है जो आपको मुवारक 

एक अर्जे मुहव्वत है जो हम करते रहेंगे ....

थोरै शव्दमा गुह्य कुरा सम्झाउन र बुझाउन शायरीको प्रयोग अति उपयोगी हुन्छ । यहाँ नेपाली समाज र राजनितवारे केही कुरा भन्न मैले एउटा सुनि जानिएको यो शायरी प्रयोग गरेको छु । शायरीले भन्छ ‘‘एउटा घृणा, विद्वेष,विषको प्याला, नफरत तथा कटाक्ष तिमीलाई नै बधाई होस् तर एउटा प्रेम , अभिप्षा , भाईचारा , मित्रता , परस्पर सहयोग पनि छ , त्यो म अपनाई रहन्छु ’’

समाज भनेको फरक फरक वर्ग , लिङ्ग , जाति , भाषा , धर्म , पेशा र व्यावसाय गर्नेहरुको संगम हो । यो विराट संगममा व्यक्ति वा समूहहरुको व्यक्तिगत र सामूहिक स्वार्थहरु छन् । ती स्वार्थहरु पुरा गर्न विभिन्न तह र तप्काहरु विच तछाड मछाड छ । हरेकले आ–आफ्नो स्वार्थ पूर्ती गर्न विभिन्न रणनीतिहरु बनाउँछन् र लागू गर्छन् । यो विराट संगम समाजमा हुने शुक्ष्माति शुक्ष्म रणनितिक कृया प्रतिक्रियाहरु कै नाम हो राजनीति । तर राजनितिमा नैतिकता छ , ईमान छ , सामूहिक स्वार्थ छ र वृहत्तर सामाजिक हित अन्तरनिहित छ भने त्यो राजनिति महान छ । तर कटाक्ष छ , व्यक्तिगत स्वार्थ छ , समाजलाई जोड्ने होईन तोड्ने अभिप्राय लुकेको छ , विष वमन गर्ने, विद्वेष तथा घृणा फैलाउने कुत्सित चाल छ भने त्यो राजनिति होईन विशुद्ध डकैति हो त्यो पनि दिउसै गरिने डकैति ।
नेपाली समाजमा जातिय विभेद छ । मानिस मानिस सव वरावर हुनु पर्नेमा छुवाछुत जस्तो अमानवीय प्रथाले अझै जरो गाडेको छ । त्यसैगरी संविधानले धार्मिक स्वतन्त्रता प्रदान गरेको छ तर सवै धर्मले समान संरक्षण प्राप्त गर्न सकेको छैन । मुस्लिम धर्मावलम्वीहरु अल्पसंख्यक भएकै कारण कतिपय सेवा र सुविधावाट वञ्चित छन् । नेपालको अर्को विषम अवस्था भनेको क्षेत्रिय विभेद हो । बिकासमा असंतुलन छ । कुनै क्षेत्रमा बिकास माथि बिकास थपिएको छ तर कुनै क्षेत्र पुरै उपेक्षित छ । त्यसैगरी समाजमा वर्गिय असमानता पनि छ । धनी झन झन धनी तर गरीबहरु झन झन गरीब हुने अवस्था छ । कोही महल अटालिकामा विलासिताको जीवन विताईरहेका छन् । कोही दुई छाक खान पनि द्यौ द्यौको अवस्थामा छन् । अर्को एउटा विभेद लिङ्गिय विभेद हो । महिला र पुरुष विच समाजले कायम गरेको असमानता । जसको कारण महिलाहरु तुलनात्मक रुपमा अहिले पनि पुरुष भन्दा पछाडी छन् ।
यसरी हेर्दा नेपाली समाजको सामाजिक शक्ति संरचनामा दलित , महिला , गरीब र उपेक्षित क्षेत्रका मानिसहरु कमजोर तथा शक्तिविहिन अवस्थामा छन् । ती वर्ग , जाति, लिङ्ग र क्षेत्रका मानिसहरु नै असमानता र विभेदको शिकार भएका छन् । अर्कोतिर शक्ति संरचनामा शक्तिशाली देखिएका धनी, गैर दलित , पुरुष र बिकसित क्षेत्रका मानिसहरुको राज्य र समाजको हालिमुहाली छ । उनीहरुको सर्वत्र पहुँच छ । श्रोत माथि उनीहरुको एकाधिकार छ । राज्य सत्तामा वागडोर सम्हाल्ने र शक्ति अभ्यास गर्ने स्थानमा उनीहरु नै छन् । यसरी हेर्दा समाजमा दुई थरी मानिसहरु छन् । एकथरी कमजोर र शक्तिविहिन छन् भने अर्कोथरी मानिसहरु शक्तिशाली र बलियो सामाजिक अवस्थामा छन् ।
नेपाली समाजको मूल समस्या यहाँ नेर छ । असंतुलित सामाजिक शक्ति संरचना नै विभेद र असमानताको प्रमुख कारण हो । अव वर्तमानमा जारी संविधान र हाम्रो संविधानले परिकल्पना गरेको लोकतान्त्रिक गणतन्त्रले कमजोर वर्गको सशक्तिकरण गर्न सक्नुपर्छ । सशक्तिकरण भनेको कमजोर वर्गका मानिसहरुलाई शक्ति थप्नु हो । उनीहरुको शक्तिमा वृद्धि गरी शक्तिशाली बनाउनु हो । कमजोर वर्गहरुको शक्तिमा वृद्धि हुनासाथ असंतुलित सामाजिक शक्ति संरचना वदलिन्छ । उनीहरुको पहँुचमा वृद्धि हुन्छ । सामाजिक र राजनैतिक क्षेत्र तथा अङ्गहरुमा मूलप्रवाहीकरण हुँदैजान्छ । वहिष्करणको अवस्था अन्त्य हुँदैजान्छ । श्रोत माथी पहँुच वृद्धि र सामाजिक र राजनैतिक रुपमा निर्णय गर्ने स्थानमा अर्थपूर्ण सहभागिता वृद्धि हुँदैजान्छ । क्रमश असमानता र विभेद घट्दै जान्छ । संविधानले प्रत्याभूत गरेको सामाजिक न्यायको उपलव्धता बढदै जान्छ । यसरी कायम हुन्छ न्याय र समानामा आधारित समाज ।
सय वर्ष अगाडीको समाज र अहिलेको समाजमा धेरै अन्तर छ । सय वर्ष अगाडी राजा महाराजाको घरमा जति उज्यालो हुन्थ्यो आज समाजका तन्नम गरीवको घरमा पनि त्यति नै उज्यालो हुन्छ । राजा महाराजाहरु जति द्रुत गतिमा यात्रा गर्थे आज गाउँको एउटा मजदुर पनि त्यति नै द्रुत गतिमा यात्रा गरेर समुन्द्रपारसम्म रोजगारी गर्न गईरहेका छन् । राजा महाराजाहरुले जति छिटो सूचना प्राप्त गर्थे त्यति नै छिटो एउटा सामान्य मानिसले पनि सूचना पाईरहेका छन् । किनकी हात हातमा मोवाईल छ । यो कसरी संभव भयो ? यो विज्ञानले गरेको प्रविधिको अविष्कारले गर्दा भयो । अझ भनौ प्रविधि अविष्कार र त्यसलाई सरलीकरण तथा सुलभ बनाई समाजमा त्यसको प्रसार गरियो । समाजलाई प्रविधि उपलव्ध गराईयो अनी समाजमा राजा महाराजा र सामान्य मानिस विच विभेद मेटियो । एउटा प्रविधि विकासले समाजको गति , सामाजिक रहन सहन र शक्ति सम्बन्धलाई फेरिदिन सक्छ । समाज ज्ञान निर्माणको प्रयोगशाला हो । समाजमा ज्ञानको निर्माण हुन्छ । पहिलेको समाजमा ज्ञान निर्माण हुन धेरै समय लाग्थ्यो । एउटा वडहीले आफ्नो छोरालाई काठमा बुट्टा काट्ने काम सिकाउन र शिप हस्तान्तरण गर्न १० वर्ष लाग्थ्यो । अर्थात ज्ञान निर्माण र ज्ञानको प्रसारण तथा हस्तान्तरण प्रकृया झन ढिलो हुन्थ्यो । अहिलेको समाज द्रुत छ । प्रत्येक मिनटमा नयाँ ज्ञानको निर्माण हुन्छ र एक सेकेण्ड मै ईन्टरनेटको जरियावाट संसारभर फैलिन्छ ।
हामीलाई न्याय र समानतामा आधारित समाज चाहिएकै छ । त्यसका लागि परिवर्तन र रुपान्तरण आवश्यक छ । तर अव सामाजिक राजनैतिक परिवर्तनका लागि पनि पुराना वाटोहरु अपनाउन पर्दैन । नविन समाजमा परिवर्तन र रुपान्तरणको वाटो पनि नयाँ हुन्छ । एउटा जाति, वर्ग , क्षेत्र र लिङ्गका मानिसहरुले अर्को जाति, वर्ग, क्षेत्र र लिङ्गका मानिसहरुलाई मारेर , पिटेर , धपाएर वा सामाजिक वैमन्स्यता फैलाएर , घृणा र द्वेष फैलाएर वा विष वमन गरेर सामाजिक, आर्थिक र राजनैतिक रुपान्तरण गर्ने होईन । अव देशमा राजनैतिक परिवर्तन भएको छ । लोकतन्त्र छ । गणतन्त्र छ । त्यसकारण खुला समाजको अभ्यास छ । अव प्रविधिको प्रयोग, पुँजीको प्रयोग र लोकतान्त्रिक अधिकारको प्रयोगवाट कमजोर वर्गहरु उचालिन सक्छन् । सशक्त बन्न सक्छन् । असमान सामाजिक शक्ति संरचना भत्काएर न्याय र समानतामा आधारित समाज निर्माण गर्न सकिन्छ । नूतन समाजको जग बसाल्न सकिन्छ । जहाँ क्षेत्रिय रुपमा पछाडी परेको मधेस र मधेसीहरुले न्याय र समानता प्राप्त गर्ने छन् । शत्रुवत व्यवहार नगरी सामाजिक सौहार्दता , सहिष्णुता र मेलमिलाप न विगारी न्याय र समानता प्राप्त गर्नु नै लोकतान्त्रिक व्यवस्थाको एक विशेषता हो । लोकतन्त्र भनेको राजनैतिक अभयासको क्रममा प्राप्त सिकाईहरुलाई समीक्षा गर्दै आफ्नो कमजोरी आफै सुधार गर्दै अगाडी बढ्ने पद्धति हो । त्यसकारण भनिन्छ लोकतन्त्रले आफ्नो गल्ती आफै सच्याउँछ । लोकतन्त्रलाई हामीले जीवन पद्धति बनाउन सक्नु पर्छ ।
राजनितिमा नैतिकता छ , ईमान छ , सामूहिक स्वार्थ छ र वृहत्तर सामाजिक हित अन्तरनिहित छ भने त्यो राजनिति महान छ । तर कटाक्ष छ , व्यक्तिगत स्वार्थ छ , समाजलाई जोड्ने होईन तोड्ने अभिप्राय लुकेको छ , विष वमन गर्ने, विद्वेष तथा घृणा फैलाउने कुत्सित चाल छ भने त्यो राजनिति होईन विशुद्ध डकैति हो त्यो पनि दिउसै गरिने डकैति । त्यसकारण म फेरी दोहरयाउँछु .......
एक तर्जे तगफ्फूल है हो आपको मुवारक
एक अर्जे मुहव्वत है जो हम करते रहेंगे

एउटा घृणा, विद्वेष,विषको प्याला, नफरत तथा कटाक्ष तिमीलाई नै बधाई होस् तर प्रेम , अभिप्षा , भाईचारा , मित्रता , परस्पर सहयोगलाई त्यो म अपनाई रहन्छु ’’ । मलाई विस्वास छ दिउसै डकैतिको कोटीमा पर्ने घृणाको राजनीतिलाई सिरहाली जनताले यस पटक कफन ओढाउने छन् । प्रेम , अभिप्षा , भाईचारा , मित्रता , परस्पर सहयोगको राजनितिलाई अंगाल्ने छन् । त्यसकारण सूर्य छापमा मतदान गरी वाम गठबन्धनका उम्मेदवार म लीलानाथ श्रेष्ठ र प्रमोद यादवलाई र गोलाकार भित्रको हसिया हथौडा छापमा मत दिई राम कुमार यादवलाई विजयी गराउनु हुने छ ।