Madheshlive.com

मेरो जितले सामाजिक अन्तरघुलन फेरी कायम हुनेछ – लीलानाथ श्रेष्ठ

100 पटक पढिएको

अपवादलाई सिद्धान्त नमान्ने हो भने ( अपवाद भनेको दुर्भाग्यपूर्ण घटना विशेष हो , यसलाई सिद्धान्त मान्नु पनि हुँदैन ) नेपाली समाजमा जातिय विद्वेषका कारण कुनै निरीह आत्माको रगत बगेको छैन । सैयौं जात जातिको संगम स्थल नेपालको एउटा सौन्दर्यधारा जातिय विविधता पनि हो । यहाँ विभिन्न जात जातिहरु एक अर्कामा अन्योनाश्रय सम्बन्ध राख्दछन् । साँस्कृतिक समिश्रण, एक अर्का प्रतिको सहिष्णुता र आपसी सद्भावले गर्दा समाज चिनी र पानी घोलिए जस्तै अन्तरघुलनको अवस्थामा छ । यो सौहार्दपूर्ण सामाजिक बनौट यति बलियो छ की दुषित राजनितिको हथौडा बजार्दा पनि यो टुटेन , फुटेन र भत्किएन । नेपाली समाजको यो अनुपम सौहार्दपूर्ण साँस्कृतिक छटा दुनियाँको लागि एक अनुपम उदाहरण छ । यति सहिष्णु समाज अन्यत्र कतैपनि कमै देखिन्छ ।
समाजलाई एक अर्कामा जोड्नु नै राजनितिको मूल अभिष्ट हुनुपर्छ । किनकी समाजलाई जोड्नु राजनैतिक धर्म हो । समाजलाई तोड्ने राजनिति एक प्रकारले अपराध हो । समाजमा शान्ति र अमन नभईकन बिकास प्रकृयाले गति लिन सक्दैन । अमन र शान्तिको लागि समाजमा जातिय अन्तरघुलन , सौहार्दता र परस्पर सहयोगको भावना हुन आवश्यक छ । हामी एउटै साँस्कृतिक विरासतका अङ्गहरु हौं । त्यही कारणले प्राचिनकाल देखि हाम्रो समाज कलह विहिन छ । सामाजिक सुसम्बन्ध बलियो छ । कुनै एउटा जात वा जातिले अर्कालाई पराई भन्न सक्ने अवस्था छैन । हाम्रो जन्म देखि मृत्यू संस्कारसम्म करीव करीव मिल्दोजुल्दो छ । हाम्रा देवालय ,शिवालय, स्तोत्र , ऋचा , जीवन दर्शन वेद वेदान्त , वीरगाथा, कथा–कुथुङ्ग्री,गीत संगीत र नृत्य अर्थात हाम्रो जीवन र जगतको विविध आयाम र भाव भङ्गिमा सवै मिल्दोजुल्दो छ । हामी एक अर्का प्रति आक्रमक हुन सक्दैनौं । पूर्वीय जीवन दर्शनले सिकाएको पाठवाट अनुप्राणित हामी नेपाली समाज र यसका सदस्यहरुको एक खास विशेषता हो यो ।
व्यक्तिको जीवनमा उतार चढाव आए जस्तै सामाजिक जीवन पद्धतिमा पनि यदाकदा उतार चढाव आउँछ । समाजमा पनि कहिलेकाही हुँडलहाडल गर्ने उद्युम मच्चाउने तत्वहरु सल्वलाउँछन् । शान्त, सुरक्षित र सुरम्य समाजमा पनि कहिलेकाही डरलाग्दो र भयावह स्थिति उत्पन्न गराई दिन्छ । त्यसको मूल कारण हो राजनितिवाट तत्काल अतिरिक्त लाभ लिनेहरुको स्वार्थ । आफ्नो स्वार्थ पूर्ति गर्न त्यस्ता कपटी राजनितिज्ञहरुले समाजलाई क्षति पुग्ने गरी गतिविधिहरु संचालन गरिदिन्छन् । जस्को कारण सामाजिक जीवनमा उपद्रव पैदा हुन्छ । किनकी राजनितिवाटै सामाजिक , आर्थिक र साँस्कृतिक आयामहरुले स्वरुप वा आकार ग्रहण गर्छ । राजनिति मूल नीति हो । राजनितिले गलत बाटो समात्यो भने आफ्नै छिमेकीवाट अर्को छिमेकी असुरक्षित हुन्छ । पलायन हुने क्रम बढ्छ । जात जाति विच कायम सुमधुर सम्बन्धमा विष घोलिन्छ । अन्तरघुलन थिग्रिन्छ र समाजमा विभाजनको रेखा कोरिन्छ । पथभ्रष्ट व्यक्तिहरुको हातमा नेतृत्व पुग्छ । समाजको यो स्वरुप कसैको लागि सुखद हुँदैन ।
विगत एक दशकमा हाम्रो जातिय अन्तरघुलनलाई तोड्ने प्रयाश गरियो । एउटा जात वा जातिवाट अर्को जात वा जाति डराउनु पर्ने अवस्था निम्त्याउन खोजियो । समाजवाट कसैलाई लखेट्ने वा पलायन हुन बाध्य पार्ने स्थिति ल्याउन खोजियो । मधेसीले पहाड खाली गर्ने र पहाडेले मधेस खाली गर्ने उर्दी र फरमानहरु जारी भए । समाज र राष्ट्रलाई विभाजन गर्ने प्रयाश गरियो । जात जातिहरु विच अविस्वासको खाडल फराकिलो बनाईयो । समाजको आङ्गमा सहस्र घाउ लगाउने प्रयत्न गरियो । कति मनहरु टुटयो । कति हृदयहरु फट्यो । समाजलाई कुरुप बनाईयो । हिंसाको विजारोपण गरियो । ध्वंस मच्चाईयो । हामीलाई नै चाहिने संरचनाहरु हामीले आफ्नै भत्काउने र जलाउने वातावरण निम्त्याईयो । यो कालखण्ड नेपाली समाजको लागि एक विनासकारी हुरी वतास जस्तै भयो ।
हिन्दीमा एउटा भनाई छ ‘‘ बहार आजाने पर खिँजा की दिई हुई चोट भुलाई जा सक्ती है ’’ जव वसन्त बहार आउँछ फूलका वोटहरुले आँधीले दिएको चोट विर्सेर सुन्दर फूल कोरल्छन् । नयाँ संविधान जारी भए पछि बाहार आएको छ । अव अतितका आँधीका चोटहरु भुलेर फेरी सभ्य समाजको रचना गर्ने वेला आएको छ । अमन र शान्तिको फूल कोरल्ने वेला आएको छ । विकसित र सहौहार्दतामा आधारित समाजको स्थापना कार्यलाई अगाडी बढाउनु छ । सामाजिक अन्तरघुलन बढाउनु छ । फाटेका मन र हृदयहरु टाल्नु छ । एक अर्का प्रतिको सहिष्णुभाव जगाउनु छ । न्याय र समानतामा आधारित समाज बनाउनु छ । प्रेम र आपसी सहयोगमा आधारित समाज विकसित गर्नु छ ।
हामी भौतिक निर्माणलाई मात्र बिकास भन्छौ । सेवा सुविधालाई मात्र बिकास भन्छौ । निश्चय पनि भौतिक निर्माण र सेवा सुविधाको उपलव्धता बिकास हो । तर सामाजिक सुसम्बन्ध, हार्दिकता , अमन चयन र शान्ति कायम हुनु पनि बिकास हो । जातिय सद्भाव र परस्पर सह अस्तित्व स्विकार गर्ने समाजको व्युह रचना पनि बिकास हो । यो कुराहरु समाजमा कायम नभएसम्म भौतिक विकास र सेवा सुविधाको कुनै अर्थ रहदैन । राजनितिले समाजलाई अमनको पथमा डोर्याउन सक्नु पर्छ । नत्र त्यो समाजको पतन हुन्छ । सत्याग्रह आन्दोलनका प्रणेता माहात्मा गान्धीले भनेका थिए हिंसाको शर्तमा आउने आजादी मलाई स्विकार छैन किनकी आजाद भारतमा हिंसात्मक समाज एउटा कलंक हुनेछ । हिंसा फैलिए पछि गान्धीले २ वर्षका लागि सत्याग्रह आन्दोलन रोकेका थिए । गान्धी भविष्यद्राष्टा थिए र उनले हिंसाको नाकारात्मक असर बुझेका थिए । त्यसकारण उनी आजाद भारत त चाहान्थे तर अहिंसाको वाटोवाट । उनी बिकसित भारत चाहान्थे तर जातिय मेलमिलाप र सौहार्दताको शर्तमा ।
अहिले निर्वाचनको वेला छ । जनताको मतले राजनितिको वाटो कता जाने हो भन्ने निक्र्यौल गर्छ । जातिय राजनितिको विष वमन गर्नेहरुले जिते भने यो समाज झन डरलाग्दो हुनेछ । यहाँ जंगल राज कायम हुनेछ । अमन र शान्ति गुम्ने छ । तर मैले जिते भने समाजमा सर्वप्रथमतः समाज जातिय अन्तरघुलनको पथमा जानेछ । समाजमा जात जातिहरु विच कायम अविस्वास , कटाक्ष र एक अर्का प्रतिको अस्विकारभाव समाप्त हुने छ । उत्तर दक्षिण सवै एउटै धागोमा उनिने छ । हामी भिन्न भिन्न समाजका हुने छैनौ । सवै एउटै साँस्कृतिक विरासतका धारा बन्ने छौ । समाजमा कोही पनि अर्कोसंग डराउने , तर्सिने वा तर्किने अवस्था रहने छैन । एउटा अनुपम साँस्कृतिक अन्तरघुलनले समाजमा अमनको मठिास पैदा गर्ने छ । भौतिक बिकास र सेवा सुविधाको उपभोग गर्दा पनि समाजलाई आनन्द मिल्ने छ । तसर्थ सूर्यमा मतदान गरी मलाई र प्रमोद यादवलाई तथा हसिया हथौडामा मतदान गरी रामकुमार यादवलाई विजय गराउन विनम्र आग्रह गर्दछु ।