जन्म, जीवन र मृत्यु

मनुष्य प्रकृतिको सर्वाधिक उत्कृष्ट र महान रचना हो । मानिसको जति शारीरिक, मानसिक र सामाजिक विकास अन्य कुनै पनि जीवको भएको छैन । डायनासोरको युग (२३–६.५ करोड वर्ष) मा मनुष्यको अस्तित्व थिएन र आज मनुष्यको युगमा डायनासोर केवल अवशेषको रूपमा मात्र छ । डायनासोर त्यस युगको सर्वाधिक विकसित प्राणी थियो र तर आज मनुष्य डायनासोरको भन्दा असंख्य गुणा विकसित प्राणीको रूपमा रहेको छ । मनुष्यको उत्कृष्टताको विषयमा कतिसम्म भनिन्छ भने देवीदेवताले पनि ब्रह्माण्डिक दर्शनको अभिलाषा मेटाउन मनुष्य योनीमा अवतार लिन चाहन्छन् । पौराणिक प्रमाणहरूमा यस कुराको अनेक उदाहरण भेटिन्छन् । भन्नुको तात्पर्य यही हो कि मनुष्य प्रकृतिको सर्वाधिक उत्कृष्ट र महान रचना हो ।

अजय कुमार झा

मनुष्य पनि प्रकृतिले मनुष्यप्रति गरेको अपेक्षामाथि खरो उत्रिएको छ । मानिसले ज्ञान र विज्ञानको जगतमा आजसम्म जे जे खोज्यो सबै थोक प्राप्त गरेको छ । मानिसले दुःखलाई परास्त गर्यो र मानिसका लागि आवश्यक सुख र सुविधाका तमाम वस्तुहरूको निर्माण गर्यो । मानिसले स्वयंलाई जित्यो । मानिसले मानिसलाई जित्यो, सिंह, हात्तीसमेत सबै जीवजन्तुलाई जित्यो । राज्य जित्यो, साम्राज्य जित्यो । सागरको गहिराई देखि सगरमाथाको चुचुरासम्म पुग्न सकेको मानिसले गर्न र जित्न अब केही पनि बाँकी नरहेझैं सबै कुरा गर्न र जित्न सफल रह्यो ।

मनुष्यले स्वयंभित्र र बाहिर के के र कस्ता कस्ता उपलब्धिहरू हासिल गरे भन्ने कुराको सूचीमा प्रवेश नगरौं किनभने त्यो सूची धेरै लामो हुन सक्छ, यहाँसम्म कि मनुष्यले निर्माण गरेको भ्वाइजर (उपग्रह)  आज हाम्रो सूर्यको परिधिलाई नाघेर अर्कै विश्वमा प्रवेश गर्ने कोसिस गरिरहेको छ । भ्वाइजर आफ्नो परिधिलाई नाघ्न समर्थ भएछ भने सायद अर्को सूर्य (सौर्यशक्ति) को बलमा हाम्रो पृथ्वी झैं त्यहाँको पृथ्वीका वैज्ञानिकलाई पनि एक थान भ्वाइजर हामीतिर पठाउन अभिप्रेरित गर्ला । कतै सौर्य सीमान्त रेखामा उताको भ्वाइजर पनि हामीलाई गन्तव्य बनाइरहेको रहेछ र सडकमा सवारीहरू आरपार हुँदा एकले अर्कोलाई अभिवादन गरे झैं हर्न साटासाट गरिरहेको रहेछ भने आश्चर्य मान्नु जायज हुने छैन ।

तर यही मानिस हो, जसले प्रकृतिको सामु घुँडा पनि टेक्नुपरेको छ । प्रकृतिको यो उत्कृष्ट र महान रचना मृत्युदेवीको चरणमा त्राहिमाम–त्राहिमाम, रक्षमाम–रक्षमाम गर्नुपरेको छ । याचना गर्नुपरेको छ,गिड़गिड़ाउनुपरेको छ । किनभने उसले चाहेर पनि मृत्युमाथि विजय प्राप्त गर्न सकेको छैन । रावणदेखि रामसम्म, कंसदेखि कृष्णसम्म कसैले पनि मृत्युलाई टार्न सकेन । भीष्मलाई ईच्छा मृत्युको  सामर्थ्य  थियो तर मृत्युको सत्यलाई ऐच्छिक बनाउन सकेन । दक्षिणायनबाट उत्तरायणसम्मको मृत्यु–अवरोध आजको विज्ञानको सामु उल्लेख गर्न लायकको कुरो हुन सक्दैन । ठूल्ठूलो तपश्या गरेर अमरत्वको वर पाउने सुर–असुर कोही पनि मुख देखाउनलायक छैनन् । तिनलाई अमरत्वको वर–दान गर्ने स्वयं प्रकृति (ब्रह्मा, विष्णु, महेश) पनि मृत्युको सामु लाचार भएर बस्नुपर्यो । किनभने मृत्यु नै अन्तिम सत्य हो । सायद त्यसैले अमरत्वको अर्थ “मृत्योर्मा अमृतं गमय” भएको होला । मानिसले अर्कै अर्थ लगाउन पुगे ।

जीवनका तीन आयाम छन्- जन्म, जीवन र मृत्यु । प्राणीका स्वभाव र आवश्यकताअनुसार न्यूनतम गर्भमास पूरा भएपछि आमाका गर्भबाट भ्रूण बाहिर निस्कनु नै जन्म हो । जीवात्मा अर्थात् प्राणीको जीवनको अन्त्यलाई मृत्यु भनिन्छ । यसरी जन्मदेखि मृत्युबीचको कालावधि नै जीवन कहलाउँछ । जन्म कसैको आफ्नै इच्छाले हुँदैन । माता–पिताको प्राकृतिक क्रियाबाट मात्र जन्म सम्भव हुन्छ । जीवनको मुख्य अंग एक चेतन तत्त्व हो, जो जीवनका सबै क्रियाहरूको साक्षी हुन्छ । वैज्ञानिकहरूका दृष्टिकोणले जीवनको तात्पर्य अस्तित्वको त्यस अवस्थादेखि हो, जसमा प्राणीको अन्तरक्रिया, उन्नति र वृद्धिको लक्षणहरू देखिन्छन् । दार्शनिकहरूका अनुसार जीवनको सम्बन्ध जीउनुमा हुन्छ, मात्र अस्तित्वको विद्यमानतामा होइन ।

जन्म प्राकृतिक घटना अवश्य हो, तर यो शाश्वत सत्य होइन । त्यस्तै जीवन अनित्य हो, माया हो भनेर भनिन्छ । एस्सै पनि जीवनलाई ‘दुई दिनको जिन्दगानी’ अथवा ‘चार दिन की चांदनी, फीर अंधेरी रात’ भन्ने गरिन्छ । तर मृत्यु घटना भनेको शाश्वत सत्य हो । मृत्यु सुनिश्चित छ । जसको जन्म भएको छ, त्यसको मृत्यु अनिवार्य छ । मृत्यु मानिसको लागि मात्र होइन, चराचर, ग्रह, नक्षत्र आदि सबै अनित्य हुन् । जसको उत्पत्ति छ, त्यसको अन्त्य निश्चित छ । नित्य के कुरा छ त ? त्यो भिन्दै विषय हो ।

श्रीमद्भाग्वतमा भगवान भन्नुहुन्छ – यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत।

अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ॥

परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।

धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ॥

अर्थात् जब जब धर्मको हानि हुन थाल्छ र अधर्म बढ़न थाल्दछ, तब तब म स्वयंको सृष्टि गर्दछु, अर्थात् जन्म लिन्छु । सज्जनको रक्षा एवं दुष्टको विनाश गर्न र धर्मको पुनःस्थापनाको लागि म विभिन्न युग (काल) मा अवतरित हुन्छु । भगवानको यो कथनले जन्म प्रक्रियालाई पनि सुनिश्चित अर्थात् शाश्वत घटनाको रूपमा लिनुपर्ने देखिन्छ । तर यो कथनमात्र कुनै व्यक्तिविशेषको जन्मलाई सुनिश्चित गर्न अपर्याप्त छ ।

सनातन धर्ममा मोक्ष – निर्वाण र पुनर्जन्म दुबै प्रकारको सिद्धान्त छ । कि त मोक्ष मात्र हुनुपर्छ (अर्थात् पुनः जन्म लिन नपर्ने) अथवा पुनर्जन्ममात्र हुनुपर्छ । जीवनको उद्देश्य भने मोक्ष – निर्वाणलाई मानिएको छ ।  मोक्ष – निर्वाण प्राप्त नभएसम्म मानिसले पुनः पुनः जन्म लिई रहनुपर्छ भनिएको छ । मानिसले कर्मको आधारमा विभिन्न योनी (जीव रूप) मा जन्म लिनुपर्ने भन्दै गर्दा अरू जीवले पनि जन्म माथि जन्म लिई रहनुपर्ने अवस्था देखिन्छ । प्रत्येक जीवको जन्मको आधार मानिस वा मानिसको कर्म (कुकर्म) नै हुन सक्दैन । सबै जीवको जन्म, जीवन र मृत्यु घटना प्राकृतिक छ, मानिसले जतिकै । त्यसैले यहाँ श्रीकृष्णको कथनको तात्पर्य प्रकृतिभित्रको जन्मचरित्रलाई स्थायित्व प्रदान गर्न होइन, अपितु दर्शनमा आधारित यो विचार यस्तो हो कि अधर्मीविरुद्ध धर्मपुरुषको उत्पत्ति स्वाभाविक हुन्छ ।

जीवनको स्वाभाविक कर्म श्वासप्रश्वास क्रियाको अधीन रहनु हो । श्वास लिन   बिर्सियो कि जीवन समाप्त । जीवनलाई निरन्तरता दिन आवश्यक अर्को जोहो आहारको खोजी । कवि मलुका दासले भनेका छन्— “अजगर करे ना चाकरी, पंछी करे ना काम । दास मलुका कह गए, सब का दाता राम ।।” यस धरतीका केही विशेष अल्छी मानिसलाई ध्यानमा राखेर मलुका दासले भनेको यो दोहा सम्पूर्ण विश्वमा आफ्नो सारगर्भितालाई लिएर साहित्यकारहरूको बीचमा उत्सुकताको विषय बनेको रहन्छ । तर सत्य के हो भने कुनै पनि जीवले कर्म नगरी क्षुधालाई शान्त गर्न सक्दैन । सन्तानोत्पति पनि जीवनको अर्को प्राकृतिक कर्म हो । यसका अतिरिक्त जीवनमा के के गर्ने भन्ने कुराको चिन्तन र निर्क्योल मानिस स्वयंले गर्दछ । सबैले होइन, यस्तो चिन्तन थोरैले गर्ने गर्दछ । आफ्नो सुखसयलका लागि धेरैले नानाथरीका चाहिने नचाहिने कर्म कुकर्म गर्दछन् । तर गिनेचुनेका मानिसले मात्र परोपकार अर्थात् लोककल्याणको कार्य गर्दछ । बाँकीले जन्मनासाथै आफ्नै पार्थिव शरीरलाई काँध हालेर श्मशानतर्फ शनैः शनैः घिस्रिरहेको भन्न सकिन्छ । केही गरे पनि नगरे पनि श्मशान त पुग्नु नै छ । किनभने अन्तिम कुरो त मृत्यु नै हो ।

मृत्यु एक अटल सत्य हो । मृत्यु भनेको सबै जैविक तत्त्वहरूको स्थायी, अपरिवर्तनीय समाप्ति हो । मृत्यु एक प्राकृतिक व्यवस्था हो, जुन सम्पूर्ण जीवहरूमा लागू हुन्छ । संयुक्त राष्ट्र संघका अनुसार विश्वभरि प्रत्येक दिन करिब ३,८५,००० व्यक्तिको जन्म हुन्छ र करिब १,५०,००० व्यक्तिको मृत्यु । यो गणितले हामीलाई यो बताउँछ कि जन्म र मृत्युको घटना हर क्षण घटित भइरहेको हुन्छ । एक अध्ययनका अनुसार ४.४ प्रतिशत व्यक्ति १ वर्ष नपुग्दै मर्छन् । १०–१४ उमेरका व्यक्तिको मृत्यु प्रतिशत ०.१ छ भने २०–२४ उमेरको व्यक्तिको मृत्यु प्रतिशत ०.५ छ । ५५–५९ उमेरका मानिसको मृत्यु दर ४.८ प्रतिशत, ७०–७४ उमेरकाको १८ प्रतिशत र ८५–८९ को मृत्यु दर ९१ प्रतिशत रहेको छ ।

जीव वा मानिस वृद्ध र अशक्त अवस्थामा पुगेर मृत्युलाई प्राप्त हुनुलाई कालगतिले मृत्यु भएको अर्थात् स्वाभाविक मृत्यु भएको मानिन्छ । तर त्यसअघि रोग वा दुर्घटनाको सिकार भएर मर्नुलाई अकालमृत्यु भनिन्छ । मानिस कालगतिले मरेकोमा आफन्त वा स्वजनलाई दुःख भए पनि क्षोभ हुँदैन । क्षोभ भनेको आपत्तिजनक कुरो वा व्यवहार देखेर कसैप्रति मनमा उठ्ने व्याकुलतासहितको रिस वा क्रोधको अवस्था हो । अकालमृत्यु हुँदा आफन्त वा स्वजनलाई दुःखसँगै क्षोभ पनि हुन्छ ।

जसरी बच्चाको जन्म हुँदा मानिसमा खुसीको सीमा रहँदैन, त्यसैगरी मानिस मर्दा हुने दुःख अपरिमित हुन्छ, बेहिसाब हुन्छ । स्वजन नमरोस् भनी मानिसले हरेक यत्न गर्दछ । चिकित्सक पनि बिरामीले अन्तिम साँस लिईरहँदासम्म उसलाई बचाउने यत्न गरिरहेको हुन्छ । तर जीवन जोगाउन नसकेपछि चिकित्सकले क्षमा याचना गर्दछ र सिंगो परिवार शोकमा डुब्छ । मृतकप्रति जति नै माया स्नेह भए पनि पार्थिव शरीरलाई धेरै बेर घरमा राख्न सकिन्न । त्यसैले त्यसको अन्त्येष्ठिको विधि विधान प्रारम्भ गरिन्छ । आआफ्ना धर्म, कुल, संस्कृति, रिति-रिवाज, प्रथा, परम्परा अनुसार श्राद्ध कर्म गरिन्छ । आफन्त, स्वजनहरू शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दछन् र यस्तो भावना व्यक्त गर्दछन् कि शोकको घडिमा ऊ उसको वा उसको परिवारको साथ छ ।

आजकल सामाजिक सञ्जालको जमाना छ । परीक्षा उत्तीर्ण गर्दा, जागिर भेटाउँदा, विहे गर्दा, बच्चा जन्म लिँदा वा मृत्यु शोक पर्दा आफन्त, शुभचिन्तक, चीरपरिचितहरूले फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि आआफ्नो पेजबाट सन्देशहरू दिन थाल्दछन् । खासगरी मृत्यु शोक पर्दा मान्छे मरेको जनाउ दिना साथै शोक सन्देश दिनेको लहर शुरु हुन्छ । झन कोरोना कालको यो समयमा घरबाहिर निस्कन नपाउने अवस्थामा त एकातिर शोक पर्नेको संख्या बढ्दो छ भने शोक समवेदना प्रकट गर्न सामाजिक सञ्जालबाहेकको विकल्प पनि छैन । तर शोक प्रकट गर्दा वा मृतकलाई श्रद्धाञ्जली दिँदा वा शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्दा के कसरी शोक प्रकट गर्ने वा कसरी श्रद्धाञ्जली दिने वा कसरी समवेदना प्रकट गर्ने भन्ने बारेमा सामाजिक सञ्जालकर्मीहरूलाई के कस्तो शब्द प्रयोग गर्ने त्यत्ति थाहा नरहेको देखिन्छ ।

मृत्यु शोक सन्देशमा रोमन लिपिमा ‘आरआईपी’ लेख्ने फेसन झैं बढेको छ । वास्तवमा ‘आरआईपी’ लेख्नेहरू धार्मिक अर्थमा सचेत छैनन् जस्तो देखिन्छ । ‘आरआईपी’ एक संक्षिप्ति हो, जसको रोमन लिपिमा रेस्ट ईन पिस भन्ने हुन्छ । अर्थात् ‘शान्तिपूर्ण अवस्थामा आराम गर’ भन्ने हो । वस्तुतः यस्तो भावको अभिव्यक्ति त्यस्तोका लागि हो, जसको अन्त्येष्ठि पार्थिव शरीरलाई चिहानमा गाडिन्छ न कि जलाइन्छ । इसाइ वा इस्लाम धर्ममा पार्थिव शरीरलाई चितामा जलाइँदैन, चिहानमा गाडिन्छ । हिन्दूहरूले पार्थिव शरीर जलाउने गर्दछन् । हुनत हिन्दू धर्ममै पनि साधु सन्यासीहरूको पार्थिव शरीरलाई नजलाई भूमि समाधि वा जल समाधि दिने परम्परा छ ।

इसाई वा इस्लाम धर्ममा के विश्वास गरिन्छ भने मर्नेहरू वास्तवमा पूर्ण रूपमा मरेका हुँदैनन् । उनीहरू जहिले मरे पनि पूर्ण रूपमा मरेका छैनन् । उनीहरू त्यस दिन मर्छन्, जुन दिन कयामत आउनेछ । कयामतको दिनमा सबै मरिबसेकाहरूको जीवन कर्महरूको मूल्यांकन गरिनेछ र त्यही मूल्यांकनको आधारमा उनीहरूमध्ये जो जन्नत (स्वर्ग) जाने ठहरिन्छन्, तिनलाई जन्नतमा र जो दोजख (नर्क) जाने ठहरिन्छन् तिनलाई दोजखमा पठाइनेछ र यसरी जन्नत वा दोजखमा पठाइसकेपछि उनीहरूको मृत्युले पूर्णता पाउनेछ । त्यसैले पनि कतिपय रोमन राजाहरूदेखि लिएर पोपसम्मको पार्थिव शरीरलाई चिहान भित्र वा सुरक्षित घरभित्र राखिएको देखिन्छ । इस्लाम धर्ममा पनि मजार भनेको त्यस्तै ठूला व्यक्तिहरूको पार्थिव शरीर राखिएको एक तरहको चिहान नै हो।

हिन्दू धर्ममा पनि ठूलाबडालाई जहाँ जलाइएको हुन्छ, त्यहाँ समाधि गृह निर्माण गर्ने चलन छ । तर यी दुईमा यो भिन्नता छ कि हिन्दू विश्वास के हो भने अमुक व्यक्तिको मृत्यु पूर्ण रूपमा भइसकेको छ र जुन स्थानमा अन्त्येष्ठि गरियो त्यो स्थान पवित्र स्थान हो । तर अन्य धर्ममा मृत्यु नै अपूर्ण छ भन्ने मान्यता हुन्छ । त्यसैले पूर्ण मृत्यु प्राप्त नहुँदासम्म ‘रेस्ट ईन पिस’ मा प्रतिक्षा गरी बस भनिएको हो । तर हिन्दू धर्मको मान्यता अनुसार शरीर नश्वर हो, आत्मा अमर हो । हिन्दू मरेर जलाइएको छ, त्यसैले उनको “आराममा शान्ति“ भन्ने प्रश्न नै छैन । श्राद्धकर्मको परम्परा भनेको त्यो आत्मालाई अर्को आध्यात्मिक (आत्माको परमात्मामा मिलनको यात्रा) यात्राको लागि गति प्रदान गर्न मात्र गरिन्छ । आत्माको बारेमा श्रीमद्भाग्वत गीतामा श्रीकृष्णले भन्नुभएको छ कि “नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः । न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ।। अर्थात् यो आत्मा अजर अमर छ, यसलाई न त आगोले जलाउन सक्छ, न त पानीले भिजाउन सक्छ, न त हावाले सुकाउन सक्छ र न त कुनै शस्त्रले खण्डित गर्न सक्छ ।”

यसर्थ सामाजिक सञ्जालमा मृत्यु शोकमा सन्देश दिँदा के कुरा लेख्न उपयुक्त हुन्छ भन्दा खेरि त्यो शब्द भनेको “मृतकलाई भावपूर्ण श्रद्धाञ्जली, विनम्र श्रद्धाञ्जली, हार्दिक  श्रद्धाञ्जली, अश्रुपूरित श्रद्धाञ्जली, बैकुण्ठबास होस, नमन, अशेष नमन, कोटी कोटी नमन, सादर नमन, शत शत नमन, हार्दिक नमन, अत्यन्त दुखद ! श्रद्धा सुमन, हार्दिक श्रद्धा सुमन अर्पण ” तथा शोकाकुल परिवार जनप्रति “हार्दिक समवेदना, ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन ” भनी भन्न सकिन्छ । यस्तै अझ धेरै लेख्न मन लागे, “यो संसार प्रकृतिका नियमको अधीन छ”, “होनीलाई कसले टार्न सक्छ र !”, “दुःखको यस घडीमा म तपाइँको साथ छु”, आदि आदि ।

Author:



क्याटोगरी छान्‍नुहोस