दलित युवकमाथि सांघातिक आक्रमण, ६ जना घाइते [यसरी भयो घटना]

राजविराज, २३ साउन । केही दिनअघि गाली गरेको भन्दै सप्तरीको बोदे बरसाईन नगरपालिका–१० अमरैयाका ६ जना दलित युवकहरुमाथि सांघातिक आक्रमण भएको छ । सोही ठाउँका गैर दलितहरुले शुक्रवार गरेको आक्रमणमा परी ६ जना घाइते भएका छन ।

घाइते सवै जनालाई उपचारार्थ रुपनी गाउँपालिकास्थित यूनिक अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये २५ वर्षीय रामदुलार राम, २५ वर्षीय रामनन्दन राम र १९ जितेन रामको टाउकोमा गम्भिर चोट लागेको छ भने २३ वर्षीय सरोज राम, २४ वर्षीय सुन्दर राम र २० वर्षीय दिपेन रामको पनि टाउको, अनुहार र हातमा चोट उपचारमा संलग्न चिकित्सकले बताए ।

पीडितका अनुसार सोही ठाउँका २३ वर्षीय रन्जनकुमार यादव, २३ वर्षीय शिवकुमार यादव, २२ वर्षीय जितेन यादव, २१ वर्षीय चन्दन यादव, २३ वर्षीय चन्दन यादव र ४० वर्षीय दलुवा यादवले आक्रमण गरेको हो ।

यता, ईलाका प्रहरी कार्यालय कडरबोनाका इन्चार्ज रामराजा केशरीले घटनाको पुष्टि गर्दै संलग्न व्यक्तिहरुको खोजी कार्य भइरहेको जानकारी दिए । ‘घटनामा संलग्न व्यक्तिहरु फरार छन्, ६ जनाकै खोजी कार्य भइरहेको छ’ उनले मधेश लाइभलाई भने–‘कुटपिट भएको हुनसक्छ, यद्यपी कारण भने खुल्न सकेको छैन् ।’

यसरी भयो आक्रमण

विहिवार साँझ सोही ठाउँका श्यामसुन्दर राम मोटरसाइकलमा गइरहेको बेला केही दिनअघि गाली गरेको भन्दै समूहमा आएका ती युवाहरुले मोटरसाइकलको साँचो खोसेर कुटपिट गर्न थाले । स्थानीयहरु भेला भएपछि दुवै पक्षलाई सम्झाएर घर फर्काए । राम घर फर्किएसँगै सोही बाटो भएर ती युवाहरु पनि फर्किदै थिए ।

सोही क्रममा रामले किन कुटेको भन्दै साधेपछि फेरी उनीहरुले कुटपिट गर्न थालेको तथा झगडा छुटाउन आएकी रामकी १९ वर्षीय बहिनी रामकुमारीलाई पनि कुटेको रामले मधेश लाइभलाई बताए । पछि इलाका प्रहरी बोदे बरसाईनबाट खटिएका प्रहरी टोली घटनास्थलमा पुगेपछि झगडा साम्य भयो र आ आफ्नो घर फर्किए ।

शुक्रवार विहान सोही टोलका हरि रामलाई सडक भएर काममा जाने क्रममा ती युवाहरुले अचानक कुटपिट गर्न थाले । कुटपिटमा परेका राम चिच्याउन थालेपछि हेर्न पुगेका दलित युवकहरुलाई निर्घात कुटपिट गरेको पीडितहरुको भनाई छ । ‘उनीहरु पहिलेदेखि नै बाँसघारीमा भाटा लुकाएर राखेका थिए, हामी पुगेसँगै हरिलाई छाडेर चारैतिरबाट हामीमाथि नै प्रहार गर्न थाले’ पीडित रामदुलार रामले भने–‘हामी पनि चिच्याउन थालेपछि गाउँका अरु मानिस आएपछि उनीहरु भागे ।’

Author:



क्याटोगरी छान्‍नुहोस