जनकपुरधाम । अयोध्या र जनकपुरधामबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध सुदृढ बनाउने उद्देश्यले सञ्चालित रेल सेवामार्फत आएका करिब ४०० भारतीय तीर्थयात्रीको जनकपुरधाममा भव्य स्वागत गरिएको छ।
नेपाल रेल्वे कम्पनीले जनकपुरधाम रेल्वे स्टेसनमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तीर्थयात्रीलाई स्वागत गरेका हुन्।
कार्यक्रममा श्रममन्त्री यादवले जनकपुरधाम–अयोध्या रेल सेवा नेपाल–भारतबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्ध बलियो बनाउने महत्वपूर्ण माध्यम भएको बताए। यसले धार्मिक पर्यटनसँगै व्यापार, रोजगारी र उद्यमशीलताका नयाँ अवसर सिर्जना गर्ने विश्वास उनले व्यक्त गरे।
उनले अयोध्या र जनकपुरधामबीचको सम्बन्ध दुई सहरको मात्र नभई छोरी–ज्वाइँ, परिवार, संस्कृति, परम्परा र आत्मीयताको सम्बन्ध भएको उल्लेख गरे।
मुख्यमन्त्री सरोजकुमार यादवले रेल सम्पर्क विस्तारले दुई देशबीच यातायात सहकार्य, धार्मिक पर्यटन तथा आर्थिक विकासमा योगदान पुर्याउने बताए। उनले नेपाल–भारतबीचको ‘बेटी–रोटी’ सम्बन्धलाई सहज बनाउन सीमापार आवागमनका अवरोध हटाउनुपर्नेमा जोड दिए।
नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार १७ डब्बासहितको ‘सरयू–कमला एक्सप्रेस’ बिहान ९ बजेर १५ मिनेटमा जनकपुरधाम पुगेको थियो। तीर्थयात्रीका लागि जानकी मन्दिरलगायत धार्मिक स्थलको दर्शन तथा सांस्कृतिक कार्यक्रमको व्यवस्था गरिएको थियो। दर्शनपछि उनीहरूलाई सोही दिन बिदाइ गरिएको कम्पनीले जनाएको छ।