युवाको असन्तुष्टि बेवास्ता गरे लोकतन्त्रको भविष्य सङ्कटमा पर्छ: उपेन्द्र यादव

दक्षिण कोरिया (सियोल), २० कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विश्वभर युवापुस्तामा बढ्दो राजनीतिक असन्तुष्टि र परम्परागत नेतृत्वप्रतिको अविश्वासले लोकतान्त्रिक व्यवस्थामाथि चुनौती थपेको बताएका छन् ।

दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) को १३औँ महासभालाई शुक्रबार सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री यादवले विश्वव्यापी युवा आन्दोलनबारे चिन्ता व्यक्त गरेका हुन् । उनले युवाको आवाजलाई बेवास्ता गरे लोकतन्त्रको भविष्य नै सङ्कटमा पर्न सक्ने चेतावनी समेत दिए ।

श्रीलङ्का, बङ्गलादेश, केन्या र नेपालमा भएका युवा आन्दोलनलाई उनले राजनीतिक नेतृत्वप्रतिको अविश्वास, बेरोजगारी, अवसरको अभाव र जवाफदेहिताको मागसँग जोडे । उनका अनुसार यस्ता आन्दोलन राजनीतिक अस्थिरताको संकेत मात्र नभई लोकतान्त्रिक सुधारको अवसर पनि हो ।

युवालाई नीति निर्माण र राज्य सञ्चालनमा अर्थपूर्ण भूमिका दिनुपर्नेमा जोड दिँदै यादवले जनताको विश्वास जित्न राजनीतिक दलहरू जिम्मेवार र परिणाममुखी बन्नुपर्ने आवश्यकता औंल्याए । निर्वाचनलाई मात्र लोकतन्त्र मान्न नसकिने तर्क गर्दै अध्यक्ष यादवले भने ‘समान अधिकार, समावेशिता र सामाजिक न्याय पनि लोकतन्त्रका आधार हुन्।’

महासभामा उनले विश्वव्यापी भूराजनीतिक प्रतिस्पर्धा, क्षेत्रीय द्वन्द्व, आर्थिक अनिश्चितता र जलवायु परिवर्तनका चुनौतीबारे समेत चर्चा गरे । अन्तर्राष्ट्रिय सम्बन्धमा शक्तिको प्रतिस्पर्धाभन्दा कानुन, समानता र पारस्परिक सम्मानलाई प्राथमिकता दिनुपर्ने उनको धारणा थियो ।

नेपालको परराष्ट्र नीतिबारे चर्चा गर्दै यादवले सार्वभौमिकता, भौगोलिक अखण्डता, असंलग्नता र शान्तिपूर्ण सहअस्तित्वप्रति नेपालको प्रतिबद्धता दोहो¥याउँदै कुनै पनि मुलुकलाई शक्तिराष्ट्रको पक्ष लिन बाध्य पार्न नहुने उनले बताए । जलवायु संकटको प्रसंगमा उनले नेपालको उत्सर्जन योगदान न्यून भए पनि यसको असर गम्भीर रूपमा भोग्नुपरेको उल्लेख गरे ।

हिमनदी पग्लिने, बाढी र पहिरोजस्ता विपद्ले नेपालको जनजीवन तथा अर्थतन्त्र प्रभावित भइरहेको तर्क गर्दै जसपा अध्यक्ष यादवले भने ‘जलवायु न्यायका लागि विकसित राष्ट्रले जोखिममा रहेका मुलुकलाई पर्याप्त आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउनुपर्छ ।’ लोकतान्त्रिक मूल्यको संरक्षण, युवाको सहभागिता, जवाफदेही शासन र जलवायु न्यायलाई अन्तर्राष्ट्रिय राजनीतिक सहकार्यको साझा एजेन्डा बनाउन सम्मेलनका सदस्य दलहरूलाई जसपा नेपालका अध्यक्ष यादवले आह्वान गरे ।

सम्मेलनमा अध्यक्ष यादव सहित नेपालका अन्य राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको सम्मेलनमा सहभागी जसपा नेपालका केन्द्रीय नेता ई. शैलेन्द्र मोहन झाले जानकारी दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस