जनकपुरधाम । भारतको अयोध्या र नेपालको जनकपुरधामलाई जोड्ने अयोध्या–क्यान्ट–जनकपुरधाम एक्सप्रेस रेल सेवा नोभेम्बर २८ तारिखदेखि सर्वसाधारण यात्रुका लागि सञ्चालनमा आउने भएको छ।
रेल सेवाको उद्घाटन नोभेम्बर २३ तारिखमा भारत र नेपालका प्रधानमन्त्रीले दिल्लीबाट संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको छ। उद्घाटनपछि नोभेम्बर २८ देखि आम यात्रुहरूले उक्त रेल सेवामार्फत यात्रा गर्न सक्नेछन्।
रेल सेवामा कुल १७ वटा कोच रहनेछन्। जसमा ८ वटा एसी कोच र ७ वटा स्लीपर कोच रहने जानकारी दिइएको छ। यस रेलमा जनरल डब्बाको व्यवस्था नहुने तथा आरएसी (RAC) टिकट सुविधा पनि उपलब्ध नहुने जनाइएको छ। यात्राका लागि कन्फर्म टिकट अनिवार्य हुनेछ।
भारतको जयनगरमा यात्रुहरूको आवश्यक कागजात जाँच गरिने भएकाले रेल त्यहाँ करिब दुई घण्टा रोकिने व्यवस्था गरिएको छ। अयोध्यादेखि जनकपुरधामसम्म यात्रा गर्ने यात्रुले बीचमा रेल परिवर्तन गर्नुपर्ने छैन।
भारतको अयोध्या र नेपालको जनकपुरधामलाई जोड्ने यो रेल सेवाले दुवै देशबीच धार्मिक, सांस्कृतिक तथा पर्यटन सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। विशेषगरी रामायण सर्किट तथा धार्मिक पर्यटन प्रवर्द्धनमा रेल सेवा महत्वपूर्ण हुने विश्वास गरिएको छ। imageM Social Media