जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन्। प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्ने सम्भावना कमजोर बनेपछि उनले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन्।
पदभन्दा जनताको सेवा र विश्वास ठूलो रहेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले राजीनामा दिएको बताए।
गत असोज ३० गते नेकपा (एमाले) ले आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यसपछि गत कात्तिक २० गते नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि सरकारबाट समर्थन फिर्ता लिएपछि यादव नेतृत्वको सरकार अल्पमतमा परेको थियो।
१०२ सदस्यीय मधेश प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५२ सांसदको समर्थन आवश्यक थियो।
अब नयाँ सरकार गठनका लागि दलहरूबीच कसरत सुरु हुने देखिएको छ। एमाले र नेकपाले जसपा नेपालको नेतृत्वमा सरकार गठन गर्न लचकता देखाए पनि जसपाभित्र मुख्यमन्त्रीको उम्मेदवारलाई लिएर सहमति जुट्न सकेको छैन।
यता जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आगामी सरकारमा सहभागी नहुने घोषणा गरिसकेका छन्। मुख्यमन्त्रीको राजीनामासँगै अब प्रदेश प्रमुखले संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्ने प्रक्रिया अघि बढाउनेछन्।