राजविराज । फोहोरमैला व्यवस्थापनमा संलग्न श्रमिकहरूको हक, अधिकार, स्वास्थ्य, सुरक्षा र पेसागत मर्यादा संरक्षण गर्ने उद्देश्यले सप्तरीमा सफाइकर्मीहरू संगठित भएका छन् ।
हनुमाननगर कंकालिनी नगरपालिकाका सफाइकर्मीहरूले ‘रिसाइकलर साथी सप्तरी, नेपाल’ नामक नागरिक समाज संस्था गठन गरेका हुन् । aनवगठित संस्थाले फोहोरमैला व्यवस्थापन श्रमिकहरूको श्रम अधिकार सुनिश्चित गर्ने, सुरक्षित तथा मर्यादित कार्य वातावरण निर्माण गर्ने र उनीहरूको सामूहिक आवाजलाई सशक्त बनाउने लक्ष्य लिएको छ । शुक्रबार हनुमाननगर कंकालिनी नगरपालिकाको सभाहलमा आयोजित क्षमता अभिवृद्धि कार्यक्रममा संस्थाको गठन तथा संस्थागत सुदृढीकरणका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा २० जनाभन्दा बढी फोहोरमैला व्यवस्थापन श्रमिकको सहभागिता रहेको थियो ।
युरोपियन युनियनको आर्थिक सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ‘ग्रीनसिफ्ट नेपाल’ परियोजनाअन्तर्गत यो पहल अघि बढाइएको हो । परियोजनाले श्रमिकहरूको क्षमता अभिवृद्धि, संस्थागत विकास तथा हकहित संरक्षणका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । परियोजनाअन्तर्गत आगामी सात महिनासम्म श्रमिकहरूलाई नेतृत्व विकास, संस्थागत व्यवस्थापन, श्रम अधिकार र संगठन सञ्चालनसम्बन्धी तालिम प्रदान गरिनेछ । यसका लागि परियोजनाले अनुदानसमेत उपलब्ध गराएको छ ।
त्यसैगरी, संस्थालाई पारदर्शी, जवाफदेही र दिगो रूपमा सञ्चालन गर्न तयार गरिएका सातवटा नीतिबारे सदस्यहरूलाई अभिमुखीकरण तथा तालिम दिइनेछ ।संस्था गठनसँगै सफाइकर्मीहरूले आफ्ना साझा समस्या र अधिकारका विषयमा संगठित रूपमा आवाज उठाउन सक्ने अपेक्षा गरिएको छ । यसले सुरक्षित कार्यस्थल, सामाजिक सुरक्षा, उचित श्रम अधिकार तथा पेसागत सम्मानका लागि सम्बन्धित निकायसँग पैरवी गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
फोहोरमैला व्यवस्थापन र वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका श्रमिकहरूको अधिकार तथा सुरक्षा सुनिश्चित गर्न संस्थाले प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।