काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले बिहीबार कारण देखाउ आदेश जारी गर्दै कार्कीलाई पुनर्बहाली गर्ने मागसहित परेको रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफलका लागि दुवै पक्षलाई बोलाउने निर्णय गरेको हो ।
अदालतले विपक्षी सरकारलाई सूचना तथा म्याद तामेल भएको मितिले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।
गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो । त्यसैगरी, रिक्त प्रहरी महानिरीक्षक पदमा डा. मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
बिना पूर्वसूचना र आफ्नो कुरा राख्ने अवसरसमेत नदिई प्रहरी ऐन, २०१२ तथा प्रहरी नियमावली, २०७१ विपरीत आफूलाई पदबाट हटाइएको दाबी गर्दै कार्कीले कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
उक्त रिटमाथि थप सुनुवाइका लागि सर्वोच्चले आगामी मंसिर ७ गतेको पेसी तोकेको छ ।
File Image: Dan Bahadur Karki