अपराजिता फूलको नीलो चिया

डा. सुषमा साउद

पछिल्लो समय अपराजिता फूलको नीलो चिया पिउने चलन बढिरहेको छ । कतिपयले यसमा कागती र बिरे नुन पनि मिसाएर पिउनुहुन्छ ।

वास्तवमा यो चिया कत्तिको उपयोगी छ ? सबैले पिउन मिल्छ ?

अपराजिता (Clitoria ternatea) लाई आयुर्वेदमा हामी औषधीय महत्त्व भएको वनस्पति मान्छौँ । यसको फूलमा एन्थोसाइनिन नामक प्राकृतिक रङद्रव्य र एन्टिअक्सिडेन्ट गुण भएका तत्त्व पाइन्छन् ।

यसका फाइदा के हुन् ?

एन्टिअक्सिडेन्ट तत्त्वको स्रोत

अपराजिता फूलमा पाइने एन्टिअक्सिडेन्ट तत्त्वले शरीरका कोषहरूलाई हानि पुर्‍याउन सक्ने केही रासायनिक पदार्थको असर कम गर्न सहयोग गर्ने सम्भावना देखिएको छ ।

ब्लड सुगरसम्बन्धी सम्भावित प्रभाव

केही अध्ययनमा अपराजिता फूलको अर्कले खानापछि रगतमा चिनी बढ्ने प्रक्रियामा सकारात्मक प्रभाव देखाएका छन् । यसको अर्थ यसले ब्लड सुगर समस्या भएकाहरूलाई केही सहयोग पुर्याउन सक्छ ।

चिनी नहालेको हल्का पेयको विकल्प

चिनी वा गुलियो सिरप नराखी बनाइएको अपराजिता चिया सामान्य गुलियो पेय पदार्थको सट्टा लिन सकिन्छ ।

आयुर्वेदमा अपराजिताको तिक्त–कषायलगायत रस, लघु–रूक्ष गुण र शीत वीर्यको वर्णन पाइन्छ । यसको प्रयोग विभिन्न औषधीय प्रयोजनमा गरिएको छ ।

कागती र बिरे नुन मिसाउँदा के हुन्छ ?

कागती मिसाउँदा चियाको नीलो रङ बैजनी वा गुलाबी हुन सक्छ । यो प्राकृतिक रङद्रव्यमा अम्लताको प्रभावले हुने परिवर्तन हो । यसलाई चियाको औषधीय शक्ति बढेको भनिहाल्न मिल्दैन ।

कागती स्वादका लागि थोरै मिसाउन सकिन्छ । तर बिरे नुन मिसाउन आवश्यक छैन । बिरे नुनमा पनि सोडियम हुन्छ । विशेषगरी उच्च रक्तचाप, मुटु वा मिर्गौलाको समस्या भएका व्यक्तिले अनावश्यक नुन थप्नु उचित होइन ।

घरमा कसरी बनाउने ?

खाने गरी सुरक्षित र सफा गरिएका ३-५ वटा अपराजिताका फूल एक कप तातोपानीमा राखेर करिब पाँच मिनेट छोप्ने । त्यसपछि छानेर पिउन सकिन्छ ।

तर गर्भवती, स्तनपान गराइरहेका महिला, साना बालबालिका अनि नियमित औषधि सेवन गरिरहेका व्यक्तिले यसलाई औषधिका रूपमा दिनैपिच्छे प्रयोग गर्नुअघि हजुरको नियमित स्वास्थ जाँच गरिरहेका डाक्टरसँग सल्लाह लिनु राम्रो हुन्छ ।

Author:



क्याटोगरी छान्‍नुहोस