बलान बिहुलमा चिनियाँ दूतावासको सहयोग, विद्यालयलाई डेस्क–बेन्चदेखि प्रसूति केन्द्रमा एसीसम्म

रामशंकर भण्डारी

बलान बिहुल । सप्तरीको बलान बिहुल गाउँपालिकामा शिक्षा, स्वास्थ्य र आधारभूत पूर्वाधारको विकासका लागि चिनियाँ दूतावास र चाइना युथ नेटवर्कले विभिन्न सहयोग सामग्री हस्तान्तरण गरेका छन्।

नेपालस्थित चिनियाँ राजदूतावास तथा चाइना युथ नेटवर्कको आयोजनामा मंगलबार गाउँपालिका–६ स्थित श्री जागेश्वर गहिराई जनता माध्यमिक विद्यालय, सेहरामा सहयोग सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो। परियोजनाअन्तर्गत विद्यालयलाई विद्यार्थीको पठनपाठन सहज बनाउन ११० थान डेस्क–बेन्च उपलब्ध गराइएको छ। साथै ह्वाइटबोर्ड, कापी तथा अन्य शैक्षिक सामग्री र वासिङ मेसिनसमेत हस्तान्तरण गरिएको प्रोजेक्ट म्यानेजर इन्जिनियर सुहाङ दत्तले जानकारी दिए।

त्यसैगरी गाउँपालिका–४ स्थित बेल्ही वडा कार्यालयमा स्वच्छ खानेपानीको सुविधा विस्तार गरिएको छ। त्यहाँ खानेपानी प्रशोधन प्लान्टसमेत स्थापना गरिएको छ। स्वास्थ्य सेवातर्फ गाउँपालिकाका छवटै वडामा रहेका प्रसूति सेवा केन्द्रलाई दुई–दुई थानका दरले १२ थान एयर कन्डिसनर (एसी) प्रदान गरी जडान गरिएको छ। यसबाट गर्भवती तथा सुत्केरी महिलालाई सहज वातावरणमा सेवा उपलब्ध गराउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा मधेस आयोगका निवर्तमान अध्यक्ष विजयकुमार दत्त प्रमुख अतिथि तथा चिनियाँ दूतावासका राजनीतिक विभाग प्रमुख यु पेङचेंग विशेष अतिथिका रूपमा सहभागी थिए। सहयोग कार्यक्रमको समन्वय गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव र पूर्वप्रधानाध्यापक दिनेश्वरप्रसाद यादवले गरेका थिए।

चिनियाँ दूतावास र चाइना युथ नेटवर्कको सहयोगमा सञ्चालित ‘भाइब्रेन्ट भिलेज’ परियोजनाले स्थानीयस्तरमा शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवाको गुणस्तर सुधार गर्ने लक्ष्य राखेको छ। स्थानीयवासीले यस सहयोगले गाउँपालिकाको शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस