डा. सुषमा साउद
अम्लपित्त भन्ने शब्द दुईवटा शब्द मिलेर बनेको छ । ‘अम्ल’ अर्थात् अमिलो र ‘पित्त’ अर्थात् आयुर्वेदमा वर्णन गरिएको शरीरको एक प्रमुख दोष ।
आयुर्वेदमा पित्तको गुण विकृत भएर अमिलोपन बढ्ने अवस्थालाई अम्लपित्त भनिन्छ । यसलाई विदग्ध पित्त सँग जोडेर व्याख्या गरिएको छ । त्यसैले यसको नाम अम्लपित्त राखिएको हो ।
सामान्य भाषामा हामी यसलाई ग्यास्ट्रिक वा एसिडिटीसँग जोडेर बुझ्छौँ । तर आधुनिक चिकित्सामा एसिड रिफ्लक्स, ग्यास्ट्राइटिस र अम्लपित्त ठ्याक्कै एउटै रोग भने होइनन् । यसका धेरै लक्षण मिल्छन् ।
अम्लपित्त किन हुन्छ ?
आयुर्वेदअनुसार अनियमित खानपान, पहिले खाएको खाना नपच्दै फेरि खानु, अत्यधिक पिरो, अमिलो तथा पित्त बढाउने खानेकुरा खानु, पाचन अग्निमा गडबडी आउनु र अव्यवस्थित दिनचर्या अम्लपित्तका सम्भावित कारण हुन् ।
अम्लपित्तका दुई मुख्य प्रकार
ऊर्ध्वग अम्लपित्त : यसमा अमिलो वा तीतो डकार आउने, छाती र घाँटी पोल्ने, वाकवाकी लाग्ने तथा बान्ता हुनेजस्ता लक्षण देखिन्छन् । अधोग अम्लपित्त : आयुर्वेदमा तल्लो दिशातर्फ प्रकट हुने विकारका रूपमा यसको वर्णन छ । यसमा अपच, अत्यधिक तिर्खा, जलन, चक्कर र शरीरमा असहजताजस्ता लक्षण हुन्छन् ।
मुख्य लक्षण के–के हुन् त ?
खाना राम्ररी नपच्नु (अविपाक), वाकवाकी लाग्नु (उत्क्लेश), अमिलो वा तीतो डकार आउनु (तिक्ताम्लोद्गार), छाती तथा घाँटी पोल्नु (हृत्कण्ठदाह), शरीर भारी हुनु (गौरव), थकान महसुस हुनु (क्लम) र खान मन नलाग्नु (अरुचि) यसका प्रमुख लक्षण हुन् ।
आयुर्वेदमा यसको निदान र उपचार कसरी गरिन्छ ?
बिरामीको खानपान, पाचन अग्नि, दोषको अवस्था, देखिएका लक्षण र दैनिक जीवनशैलीको मूल्याङ्कन गर्नुपर्ने हुन्छ । आवश्यक परे अरु समस्याब्त होइन भनेर रोग छुट्याउन आधुनिक परीक्षण पनि गरिन्छ ।
आयुर्वेदमा अम्लपित्तको उपचारका लागि मुख्यतः तीन सिद्धान्त अपनाइन्छन् ।
निदान परिवर्जन : रोग बढाउने खानपान र बानीव्यवहारमा सुधार गर्ने ।
शमन चिकित्सा : बिरामीको अवस्थाअनुसार पाचन अग्नि र पित्तदोषको असन्तुलन व्यवस्थापन गर्न आहारविहार तथा आयुर्वेदिक औषधि प्रयोग गर्ने ।
शोधन चिकित्सा : आयुर्वेदमा वमन तथा विरेचनजस्ता उपचारको पनि छ । तर यस्ता उपचार सबै बिरामीलाई आवश्यक वा उपयुक्त हुँदैनन् । डाक्टरले मूल्याङ्कन गरेपछि मात्रै गर्नुपर्छ ।
बिरामी आफैंले के गर्ने त ?
नियमित समयमा सन्तुलित खाना खानुहोस् । एकैपटक धेरै नखानुहोस् । जुन खानेकुराले पेट पोल्ने वा अमिलो डकार आउने समस्या बढाउँछ, त्यसलाई कम गर्नुहोस् । खाना खाएलगत्तै नसुत्नुहोस् । पर्याप्त निद्रा लिनुहोस् र तनाव व्यवस्थापनमा ध्यान दिनुहोस् ।