काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय वित्तीय निगरानी सूची (ग्रे लिस्ट) बाट बाहिर निकाल्ने चुनौतीपूर्ण जिम्मेवारीका बीच सहसचिव इन्द्रदेव यादवले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नेतृत्व पाएका छन् ।
अर्थ मन्त्रालयले यादवलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो । अर्थमन्त्री स्वर्णिम वाग्लेले मन्त्रीस्तरीय निर्णयमार्फत उनलाई उक्त जिम्मेवारी सुम्पिएका हुन् ।
यसअघि महोत्तरीको प्रमुख जिल्ला अधिकारी रहेका यादव गत मङ्सिर ४ गतेको मन्त्रिपरिषद् निर्णयबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए । विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसकेका उनीसँग सार्वजनिक प्रशासनको अनुभव छ ।
विभागका तत्कालीन महानिर्देशक निर्मल ढकाललाई वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएपछि उक्त पद रिक्त थियो ।
नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी कसुरको अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्ने चुनौती छ । यस्तो अवस्थामा विभागको नेतृत्व सम्हालेका यादवका लागि अनुसन्धान प्रक्रिया सुदृढ बनाउनु प्रमुख जिम्मेवारी हुनेछ ।
यसैगरी, अर्थमन्त्री वाग्लेले सहसचिव नीता शर्मालाई महालेखा नियन्त्रक कार्यालयमा खटाउने निर्णय पनि गरेका छन् । शर्मा पनि गत मङ्सिर ४ गतेको मन्त्रिपरिषद् निर्णयबाट अर्थ मन्त्रालयमा सरुवा भएकी थिइन् ।