भारत-चीनबीच तनाव कम गर्न पाँच बुँदे सहमति

एजेन्सी । लद्दाखस्थित भारत–चीनबीचको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा जारी तनाव कम गर्नका ५ बुँदे सहमति भएको छ । भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच रुसको राजधानी मस्कोमा भएको बैठकका क्रममाम सो सहमति बनेको हो ।

भारतका विदेशमन्त्री जयशंकरले एलएसीमा जारी तनाव बढाउन नचाहेको भन्दै चीनप्रतिको नीतिमा कुनै परिवर्तन नभएको बताएका थिए । उनले चीनको पनि भारत नीतिमा कुनै परिवर्तन नभएको विश्वास व्यक्त गरे । चिनियाँ विदेश मन्त्रालयले दुई छिमेकी देश भएका नाताले तनाव सिर्जना हुनु स्वभाविक भएको भन्दै चीन र भारतबीच रहेका असहमतिलाई सही ढंगले समाधान गर्नुपर्नेमा जोड दिएको छ ।

मस्कोमा चलिरहेको शांघाई कोअपरेशन अर्गनाइजेशन (एससीओ) देशका विदेशमन्त्रीको बैठकमा भाग लिनका लागि दुवै नेता मस्कोमा रहेका छन् । गत साता मात्रै भारतका रक्षामन्त्री राजनाथ सिंहले चिनियाँ रक्षामन्त्रीसँग भेटवार्ता गरेका थिए । सो बैठक पनि मस्कोमा एससीओको बैठकका क्रममा भएको थियो ।

दुई देशका रक्षामन्त्रीबीच पनि एलएसीमा जारी तनाव कम गर्ने विषयमा छलफल भएको थियो । सो छलफलमा छिट्टै विदेशमन्त्रीबीच भेट हुने बताइएको थियो । बिहीबार राति ८ बजे सुरु भएको बैठक करिब ३ घन्टा चलेको थियो ।

मस्कोमा दुई देशका विदेश र रक्षामन्त्रीहरुबीच भेटवार्ता भइरहँदा एलएसीमा सैन्य वार्ता जारी छ । बिहीबार ब्रिगेडियरस्तरमा वार्ता भएको थियो । यसअघि दुई चरणमा लेफ्टिनेन्ट जनरल अर्थात कोर कमाण्डर स्तरको केही चरणको वार्ता भइसकेको छ । तर तनाव कम गर्ने विषयमा खास सहमति हुन सकेको छैन ।

भारत र चीन दुवैले एक अर्कामाथि सीमा क्षेत्र पार गरेको र एक अर्कालाई उक्साउने कार्य भइरहेको आरोप लगाएका छन् । पछिल्लो समयमा मंगलबारमात्रै सीमा क्षेत्रमा २५ चिनियाँ सेना धारिला हतियारसहित उपस्थित भएको तस्बिर भारतीय पक्षले सार्वजनिक गरेको थियो । स्रोतका अनुसार यो ७ सेम्टेम्बरमा लिइएको तस्बिर हो । यद्यपि यसको पुष्टि हुन बाँकी छ ।

२९–३० अगस्टको राति पेंगोग त्सो तालको दक्षिणी क्षेत्रमा दुई देशका सेनाबीच तनाव सिर्जना भएको थियो । सो क्रममा एक जना तिब्बती मुलका भारतीय सैनिक मारिएका थिए । त्यसअघि १५–१६ जुनमा सीमा क्षेत्रमा भएको झडपमा २० जना भारतीय सैनिक मारिएका थिए । सो घटनमा चिनियाँ सेना मारिएको विवरण भने हालसम्म पनि सार्वजनिक भएको छैन ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780