सप्तरीमा अहिलेसम्मकै सवैभन्दा बढी कोरोना संक्रमित थपिए

२०७७ भदौ ३०
राजविराज । सप्तरीमा आज अहिलेसम्मकै सवैभन्दा धेरै कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार राजविराज नगरपालिकामा मात्रै ११ महिलासहित ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

अन्य स्थानिय तहमा ४ जना र राजविराजस्थित एक हस्पिटलमा २ जना गरी मंगलवार सप्तरीमा ५० जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिए ।

उनका अनुसार हनुमाननगर कंकालिनी नगरपालिकामा १ जना पुरुष र शम्भुनाथ नगरपालिकामा २ जना पुरुष, छिन्नमस्ता गाउँपालिका १ महिला तथा छिन्नमस्ता हस्पिटलमा १ पुरुष र १ जना महिलामा संक्रमण देखिएको छ ।

संक्रमितमध्ये जिल्ला प्रशासन कार्यालय सप्तरीका ३ जना पुरुष कार्यालय सहयोगी, राष्ट्रिय अनुसन्धान कार्यालयका एक पुरुष, दुई जना प्रहरी लगायत छन् । योसँगै सप्तरीमा संक्रमितको संख्या १ हजार ९० पुगेको छ । जसमा ७३६ जना निको भएर घर फर्किएका छन । संक्रमणबाट हालसम्म सप्तरीमा ८ जनाले ज्यान गुमाइसकेको छ ।

स्मरणहोस्, राजविराज नगरपालिकामा आजैबाट निषेधाज्ञा हटाइएको छ । निषेधाज्ञा हटाएसँगै संक्रमित ह्वात्तै थपिएपछि कोरोनाको अवस्था थप भयावह हुनसक्ने आशंका गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस