उजुरी दिन रोक लगाएपछि बलात्कृत वालिकाद्वारा आत्महत्या

२०७७ भदौ ३१
राजविराज । सप्तरीमा सामूहिक बलात्कारमा परेकी १७ वर्षीया एक वालिकाले आत्महत्या गरेकी छन् । आफू सामूहिक बलात्कारमा परेपनि गाउँमा बसेको ‘पञ्चायती’ले प्रहरीमा उजुरी दिन रोक लागएपछि डाकनेश्वरी नगरपालिका-७ ललितपुरकी संगीता मण्डलले मंगलवार आत्महत्या गरेकी हुन् ।

घटनालगत्तै बलात्कारका आरोपीहरु फरार भएका छन् । आरोपितहरु १८ वर्षीय रञ्जित मण्डल र १९ वर्षीय बब्लु मण्डल, ३० वर्षीय धर्म मण्डल, ३५ वर्षीय विष्णु मण्डल फरार छन् । उता, पीडितलाई प्रहरी कार्यालयमा जान रोक लगाएको आरोपमा गाउँका ४ पञ्चलाई प्रहरीले पक्राउ गरेको छ ।

जयकान्त मण्डल, वासुदेव मण्डल, सत्यनारायण मण्डललाई पक्राउ गरिएको सप्तरी जिल्ला प्रहरीले जनाएको छ । सोमवार विहान वालिका बलात्कृत भएपछि पञ्चहरुले पीडित संगीता र उनकी आमालाई प्रहरी कार्यालयमा जान रोक लगाएर आरोपितहरूबाट ५५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने ‘फैसला’ सुनाएका थिए ।

उक्त ‘फैसला’प्रति असन्तुष्ट पीडितले पीडा सहन नसकी आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । जिल्ला प्रहरीका इन्स्पेक्टर सन्तोष खड्काले आज वालिकाको शव पोष्टमार्टमकालागि धरान पठाउने जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस