कोरोना भाइरसः ल्यावमा अभाव हुन थाल्यो ‘रिएजेन्ट’, परीक्षण प्रभावित

२०७७ असोज ०५ गते
राजविराज । कोभिड–१९ नियन्त्रणतर्फ सरकारले ध्यान नदिँदा प्रयोगशालाहरुमा रिएजेन्टसहितका स्वास्थ्य सामाग्रहरु अभाव हुन थालेको छ । कोरोना परीक्षणकालागि आवश्यक पर्ने रिएजेन्ट अभाव हुँदा सप्तरीमा पिसीआर परीक्षण रोकिने अवस्थामा पुगेको छ ।

सप्तरीमा करिब नौ सय नमूना स्वाब परीक्षण गर्न बाँकी रहकै बेला गजेन्द्रनारायण सिंह अस्पतालस्थित प्रयोगशालामा रिएजेन्ट अभाव भएको हो ।

रिएजेन्ट अभाव हुन थालेपछि पिसीआर परीक्षण नै प्रभावित हुने अवस्थामा पुगेको अस्पतालका प्रशासनले जनाएको छ । ‘प्रयोगशालाबाट सप्तरी र सिरहा गरी दैनिक २ सयबढी नमूना स्वाब परीक्षण हुँदै आएको छ, अहिले आएर रिएजेन्ट अभाव भएको छ’ अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा.रंजीतकुमार झाले भने–‘अभावबारे सम्वन्धित सवै ठाउँमा जानकारी गरायौं पनि, तर अभावपूर्ति हुन सकेको छैन् ।’

निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. झाले हालसम्म अभावपूर्ति नहुँदा समस्या भइरहेको बताए । उनका अनुसार प्रयोगशालाबाट हालसम्म १६ हजार १६३ जनाको पिसीआर परीक्षण गरिएको छ । जसमध्ये १ हजार २२० संक्रमित फेला परेको उनले जानकारी दिए ।

भिटीएम पनि न्यून

सप्तरीमा कोरोना संक्रमित बढ्दो छ । संक्रमण रोकथाम तथा नियन्त्रण गर्न परीक्षणको दायरा बढाएसँगै भिटीएम पनि अभाव हुने अवस्थामा पुगेको छ । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार चार सय मात्रै भिटीएम बाँकी रहेको छ ।

दैनिक १ सय ५० जनाको नमूना स्वाब संकलन गर्दै आएकोमा भिटीएम पनि अभाव हुने अवस्थामा पुगेको कार्यालयका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिए । ‘सोबारे प्रदेश आपुर्ति व्यवस्थापन केन्द्रमा जानकारी गरासक्यौं’ उनले भने–‘समयमै उपलब्ध गराइएन भने अभाव हुनसक्छ ।’

सप्तरीमा हालसम्म १ हजार २०२ जनामा संक्रमण फेला परेको छ । जसमध्ये अझै ३९२ जना संक्रिय संक्रमित छन् भने ८०२ जना डिस्चार्ज भइसकेका छन् । कोरोनाबाट १० जनाले ज्यान गुमाइसकेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस