उद्देश्य अनुसार काम नगर्ने झोले सहकारीहरुको दर्ता खारेज हुन्छः मन्त्री साह

 

राजविराज, २८ कार्तिक । भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले उद्देश्य अनुसारको काम नगर्ने झोले सहकारी संस्थाहरुको दर्ता खारेज हुने बताएका छन् ।

सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्वर १ स्थित खुरहुरियामा शुक्रवार गुरुकुल बहु उद्देश्यीय सहकारी संस्थाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । प्रदेश सरकारले सहकारी संस्थाहरुको विषयमा ऐन ल्याउन लागेको जानकारी दिँदै उनले भने ‘मापदण्ड पुरा गरी दर्ता भएर पनि काम नगर्ने, निष्क्रिय रहने, झोले संस्थाहरुको दर्ता खारेजी हुन्छ, त्यसैले संस्था दर्ता गराएर नाफा कमाउनकालागि मात्रै होइन, समुदायको हितमा काम गर्नैपर्छ ।’

समान उद्देश्यले सञ्चालित सहकारी संस्थाहरुलाई गाभेर थप सबल बनाउनुपर्ने तथा यसकालागि प्रदेश सरकारले समेत प्रोत्साहन गर्ने मन्त्री साहले बताए । सहकारीको माध्यमबाट कृषि क्रान्ति तथा समृद्धि आउने भएकोले युवावर्गलाई पहलकदमी लिन उनले आग्रह गरे । कोरोना संक्रमणको अवस्थामा प्रदेश सरकारले किसान लक्षित विभिन्न सेवा सुविधा दिँदैआएको र आगामी दिनमा समेत निरन्तरता पाउने उनले विश्वास व्यक्त गरे ।

प्रदेश २ मल अभावले किसानहरुले समस्या खेप्दैआएकोप्रति चिन्ता व्यक्त गर्दै मन्त्री साहले भने ‘किसानले खेती गर्ने समयमा मल नपाउनु दुःखद् हो, मल मगाउने अधिकार संघमा निहित छ, हामीले चाहेर गर्न सकिरहेका छैर्नौ, मलको समस्या समाधान हुन अझैं केही वर्ष लाग्ने भएकोले जैविक तथा कम्पोष्ट मलको प्रयोगलाई किसानहरुले अपनाउनु आवश्यक छ ।’ मलको समुचित प्रयोग नहुनु तथा माटोको परीक्षण बिना नै खेती गर्ने गरिएकोले किसानहरुलाई प्राविधिक सहयोग लिनुका साथै माटो परीक्षण गराएर समुचित बाली लगाउनुपर्नेमा मन्त्री साहले जोड दिए ।

उद्घाटन समारोहमा जनता समाजवादी पार्टीका नेता सुरेन्द्र प्रसाद यादव, प्रेस नेपालका प्रदेश २ का अध्यक्ष श्यामसुन्दर यादव, जिल्ला समन्वय समितिका सदस्य गीता देवी मण्डल, राजगढ गाउँपालिका वडा नम्वर ५ का अध्यक्ष लक्ष्मी ठाकुर, युवा नेता जयनारायण यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

सहकारी संस्थाका अध्यक्ष जयनारायण यादवको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन संजिव कुमार यादवले गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस