सिरहामा डिएपी मलको विक्री वितरण सुरु, युरिया मल अझै आपूर्ति भएन

जनकपुरधाम, १० मंसिर । सिरहामा रसायनिक मलको आजबाट विक्री वितरण सुरु भएको छ । डिएपी मल आएसँगै कृषि सामग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कार्पोरेशनले सहकारी संस्थाका डिलरमार्फत रसायनिक मलको बिक्री वितरण सुरु गरेको हो ।

कोटा छुट्याएर माग गरिएको डिएपी मल आएसँगै विक्री वितरण कार्य सुरु गरिएको कृषि सामग्री कम्पनी लिमिटेड लहानका प्रमुख जीवनराज पौडेलले जानकारी दिए । उनका अनुसार ३३० मेट्रिक टन डिएपी मलमध्ये १५० मेट्रिक टन कृषकलाई उपलब्ध गराइसकेको छ ।

बाँकी डिएपी मल गोदाममा मौज्दात रहेको उनले बताए । उता, साल्टट्रेडिङ कार्पोरेशनले पनि डिएपी मलको बिक्री वितरणको तयारी थालेको छ । साल्ट ट्रेडिङ कार्पोरेशन लहानका प्रमुख जीतेन्द्र साहले १० हजार बोरा डिएपी मल प्राप्त भएको बताए ।

स्थानीय ठाउँमा सहकारीको डिलर उपलब्ध नरहेकोले विक्री गर्न समस्या भइरहेको उनले बताए । डिलर बन्ने वितिकै मल विक्री कार्य सुरु गरिने उनको भनाई छ । यद्यपी, जिल्लामा युरिया मल अझैसम्म आपूर्ति नभएकोले अभाव रहेको जनाएको छ ।

कुल ६० हजार ७ सय हेक्टर खेतीयोग्य जग्गा रहेको सिरहामा ७० प्रतिशतमा गहुँखेती हुने गरेको कृषि ज्ञान केन्द्र राजविराजले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस