विवाद समाधान गर्दै पत्रकार महासंघको प्रदेश साधारणसभा सम्पन्न

विरगञ्ज, १ फागुन । नेपाल पत्रकार महासंघ प्रदेश २ समितिमा देखिएको नयाँ सदस्यता र नविकरणसहितको विवादहरु सहमतिमा टुङ्गो लगाउँदै महासंघको साधारण सभा पर्साको विरगञ्जमा शनिवार सम्पन्न भएको छ ।

प्रादेशिक समितिमा देखिएका विवादहरुको सन्दर्भमा नयाँ सदस्यता र नविकरणको सन्दर्भमा जिल्ला समितिहरुबाट प्रदेश समितिमा प्राप्त नामावली स्विकृत गर्ने सहमति भएको छ । नयाँ सदस्यता र नविकरणमा प्रदेश समितिले गरेको पुनरावलोकनको हकमा थप छानविन गर्न केन्द्रीय समितिको सङ्गठन विभागमा अन्तिम किनाराकालागि कागजातसहित पठाउने निर्णय साधारण सभाले गरेको प्रदेश सचिव आर.एन. विश्वासले जानकारी दिएका छन् ।

महासंघका अध्यक्ष प्रदेश अध्यक्ष दिपेन्द्र चौहानको अध्यक्षता तथा महासंघका केन्द्रीय अध्यक्ष गोबिन्द आचार्यको प्रमुख आतिथ्यमा आयोजित साधारणसभामा महासचिव किरण कर्ण र कोषाध्यक्ष प्रविण साहले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ । कार्यक्रममा महासंघका पूर्व केन्द्रीय धर्मेन्द्र झा, महासचिव रमेश बिष्ट, सचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष राजेश मिश्र, युनियन अध्यक्ष बद्री सिग्देल, महासंघका केन्द्रीय सदस्य एवम् मधेस उपसमितिका संयोजक अवधेशकुमार झा, केन्द्रीय सदस्यद्वय शैलेन्द्र झा र देवकुमार यादव, प्रेस संगठनका उपाध्यक्ष लालबाबु शेख, विरगञ्ज मेयर विजय सरावगी, प्रेस नेपालका विजय कुशावाहा, फोटो पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष पंकज श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

साधारणसभामा प्रदेश अन्तर्गतका ८ जिल्लाका महासंघका अध्यक्ष र सचिवको सहभागिता रहेको थियो । पच्चीस हजार राशीको प्रदेश पत्रकारिता पुरस्कार धर्मेन्द्र झा(गतवर्षको) र यसवर्षको पुरस्कार शत्रुध्न नेपाललाई प्रदान गरिएको छ ।

प्रेस स्वतन्त्रता सेनानी एवम् महासंघ सप्तरी शाखाका पुर्व अध्यक्ष वैधनाथ झा, सिरहाका पुर्व अध्यक्ष चन्द्रदेव कामतीसहित आठै जिल्लाका वरिष्ठ पत्रकारहरुलाई प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको प्रदेश सचिव एवम् प्रचार विभाग संयोजक आर.एन. विश्वासले जानकारी दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस