सप्तरीका एक शिक्षकसहित दुई कोरोना संक्रमितको मृत्यु

राजविराज, २१ वैशाख । सप्तरीका दुई जना कोरोना संक्रमितको आज (मंगलबार) विहान उपचारको क्रममा मृत्यु भएको छ । सप्तकोशी नगरपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत ४५ वर्षीय शिक्षकको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान मातहतमा रहेको कोभिड–१९ अस्पतालमा मृत्यु भएको हो ।

ज्वरो आएर स्वास फेर्न समस्या भएपछि उनलाई बैशाख ८ गते अस्पताल भर्ना गरिएको थियो । एक सातादेखि उनलाई आइसियुमा राखेर उपचार हुँदै आएकोमा विहान उनको मृत्यु भएको सोही विद्यालयमा कार्यरत शिक्षक महेश मास्केले जानकारी दिए ।

यसैगरी हनुमाननगर कंकालीनी नगरपालिका–२ का ३५ वर्षीय पुरुषको पनि बिहान पौने ६ बजे मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई उपचारको लागि वैशाख १७ गते विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस