भोको पेटमा मलहम लगाउँदै रिया

राजविराज, २९ जेठ । ‘गोजीमा पैसा भएर पनि होटेल र पसलहरु बन्द रहँदा विरामीका कुरुवाहरुले पेट भर्नसक्ने अवस्था थिएन, एक त विरामीलाई उपचार गराउने तनाब र त्यसमाथि पेट कसरी भर्ने? चिन्ताले कुरुवाहरुलाई पिरोलेको थियो’ उनी भनिन्–‘हाम्रो पहलमा कम्तिमा पेट भर्ने समस्या समाधान गर्न सकिन्छ की? भन्ने उद्देश्यले बोकेर कुरुवाहरुका लागि हामीले निःशुल्क खाना खुवाउने कार्य सुरु गरे ।’ राजविराज नगरपालिका–६ की व्यवसायी रिया रोय संचेतीको भनाई हो यो ।

कोरोना संक्रमणलाई रोकथाम र नियन्त्रण गर्नका लागि सप्तरी प्रशासनले २५ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरेको छ । तर, निषेधाज्ञाले बजारमा रहेको होटेल र पसलहरु बन्द भएपछि कुरुवाहरुलाई पेट भर्न समस्या हुँदै आएको कुरालाई मध्यनजर गर्दै राजविराज नगरपालिका नगरपालिका–६ की व्यवसायी रिया रोय संचेतीले कुरुवाहरुका लागि निःशुल्क खाना खुवाउने कार्यलाई निरन्तरता दिएकी हुन् ।

तीन साताअघि नै उनले सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको परिसरमा कुरुवाहरुलाई निःशुल्क खाना खुवाउने कार्य थालिन् । रियाले आज २० औं दिन पनि सो कार्यलाई निरन्तरता दिँदै निःशुल्क खाना खुवाउने कार्य अभियान नै बनाइसकेकी छन् । ‘सुरुमा हामीलाई यति धेरै संख्याका कुरुवाहरु पेट भर्न सकिरहेका छैन भने कुरा लागेकै थिएन, पछि खाना खानेको संख्या बढ्दै गयो र हामीले खाना खुवाउने कार्यलाई निरन्तरता दिएका छौं’ उनले भनिन्–‘हामी उहाँहरुलाई अलपत्र छाड्दैनौं, निषेधाज्ञाको अवधिभर विहान वलुकै खाना खुवाउँछौं ।’

अहिले सो अभियान तहत दैनिक विहान बेलुका गरी झण्डै तीन सय जति कुरुवाहरु खाना खाइरहेका उनको भनाई छ । सो अभियानमा रियाका पति व्यवसायी अमृत संचेतीले सघाइरहेका छन् । यसैगरी सिद्धार्थ तातैड, तुला माझी, अमित साह, पशुपति साह, तिर्थनारायण दास लगायतकाले पनि सघाइरहेका छन् ।

स्थानीय र प्रदेश सरकारको ध्यान पुगेन ?

कोभिड–१९ संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न सप्तरी प्रशासनले गत वैशाख २५ गते नै जिल्लामा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका कारण सदरमुकामका सबै होटेल र पसलहरु ठप्प छ भने बजार पनि आंशिक रुपमा बन्द नै छ । जसका कारणले अस्पतालमा भर्ना भएका विरामीका कुरुवाहरुले पेट भर्न नसकेर भोकभोकै बस्दै आएका थिए ।

दुई सातासम्म कुरुवाहरु भोकभोकै बस्दा पनि सरकारको ध्यान नपुग्नु दुखद रहेको यहाँका सर्वसाधारणको गुनासो छ । ‘निःशुल्क खाना खुवाउने अभियान सुरु गरेर राजविराजकी व्यवसायी रियाले सर्वसाधारणमाथि ठुलो गुण लगाउनुभएको छ’ संजयकुमार यादवले भने–‘तर स्थानीय सरकारको ध्यान नपुग्नु अत्यन्त दुखद कुरा हो, स्थानीय सरकारले यस्तै बेलामा अगाडी आउनुपर्नेमा कानमा तेल हालेर सुतिरहेको जस्तो महसूस हुन थालेको छ ।’

गरिब–विपन्नलाई राहत किन वितरण भएन ?: अदालत

गत सोमवार उच्च अदालत जनकपुर, राजविराज इजलासले निषेधाज्ञाको समयमा गरिब–विपन्न परिवारलाई राहत वितरण नगरिएको भन्दै प्रदेश २ सरकारसँग कारण सोधेको छ । अधिवक्ता धर्मेन्द्र यादवले दायर गरेको रिटमा न्यायाधीश बासुदेव आचार्यको एकल इजलासले बाटो म्याद बाहेक १५ दिनभित्र आफैं वा प्रतिनिधिमार्फत लिखित जवाफ पठाउन प्रदेश सरकारलाई आदेश दिएको हो ।

नेपालको संविधानको धारा ३६ को खाद्य सम्बन्धी हक, संघीय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ तथा दुई नम्बर प्रदेश सभाले जारी गरेको विपद व्यवस्थापन ऐन, २०७५ को कानुनी व्यवस्था, निषेधाज्ञा/बन्दाबन्दीको अवस्थामा लक्षित वर्गले पाउनुपर्ने न्यूनतम राहत उपलब्ध गराउन माग गर्दै अधिवक्ता यादवले रिट दायर गरेका थिए ।

अधिवक्ता यादवले दायर गरेको रिटमा विपन्नलाई राहत वितरणका लागि अन्तरिम आदेश पनि माग गरिएको थियो । यद्यपी उच्च अदालतले अन्तरिम आदेशका विषयमा दुबै पक्षसँग छलफल गर्नुपर्ने भन्दै त्यसका लागि जेठ ३१ गते पेशी तय गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस