डा.झाको ठगी धन्दा : एउटै व्यक्तिको झण्डै दुई करोड झ्वाम

राजविराज – राजविराजस्थित बालाजी डेन्टल क्लिनिकका सञ्चालक डा.विवेककुमार झाले मेडिकल व्यवसाय गर्ने नाममा ठगी धन्दा चलाएको रहस्य खुलेको छ ।

जिल्लाको राजगढ गाउँपालिका–३ नर्घो घर भई हाल राजविराजमा बसोवास गर्दै आएका ३० वर्षीय डा.झाको ‘ट्राप’मा परेर पीडित बनेका जिल्लाको बोदे बरसाईन नगरपालिका–८ रजेपट्टीका ३९ वर्षीय मनिकलाल यादवले बुधवार पत्रकार सम्मेलन गरेर उनको ठगी धन्दाबारे खुलाएका हुन् ।

ठगीमा परेका बोदे बरसाईन नगरपालिका–८ रजेपट्टीका मनिकलाल यादव (दायाँ) र उनका ससुरा (बायाँ) ।

‘वैदेशिक रोजगारमा हुँदा दिनरात कडा परिश्रम गरेर जोडेको सबै पैसा ठग्यो’ उनले भने, ‘डा. झाले मेडिकल व्यवसाय सञ्चालन गर्ने नाममा पटक–पटक गरी कुल १ करोड ९५ लाख रुपैयाँ सापटी लिए तर ३ वर्ष वितिसक्दा समेत रकम फिर्ता गर्न अनाकानी गर्दै आइरहेका छन् ।’

पैसा फिर्ता माग्दा उल्टै धाकधम्की समेत दिन थालेको यादवले पत्रकार सम्मेलनमा गुनासो गरे । ‘म विगत १३ वर्षदेखि साउदी अरेवियास्थित जर्मनीको डिवि–ईन्जिनियरिंग एण्ड कन्सलटेन्सी वल्ड वाईड कम्पनीमा इन्जिीनियर पदमा कार्यरत थिए, सो बेला एक जना आफ्न्तको माध्यमले डा.झासँग चिनजान भयो’ उनले भने, ‘झाले मेडिकल व्यवसाय गर्ने योजना सुनाए र सापटी पैसा मागे । म पनि युवा हो र आफ्नै समाजका लागि केही गर्न चाहिरहेको छ भन्ने कुरा बुझेर उनलाई पटक पटक गरी प्रायजसो बैंकमार्फतै सो रकम दिए, ४/५ महिनाभित्रै रकम फिर्ता पाउने कुरा थियो ।’

केही रकम हातहातै र १ करोड २८ लाख रुपैया बैंकमार्फत दिएको ‘स्टेटमेन्ट’ र भौचर देखाउँदै यादवले भने, ‘पैसा फिर्ता गर्न अस्विकार नै गर्न थालेपछि बाध्य भएर कानूनी बाटो अपनाउनु पर्यो’

अहिले पैसा फिर्ता नपाउँदा आफ्नो पूरै परिवार समस्यामा परेको यादवले दुखेसो व्यक्त गरे । ‘रकम फिर्ता माग्दा उल्टै मिटरब्याजीमा फसाई दिने र तह लगाई दिनेसम्मको डा.झाले धम्की दिँदै आइरहेका थिए नै, त्यसमाथि राजनीतिक दबाब पनि उति नै छ’ उनले भने, ‘उनका बुवा सुनिलकुमार झा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सप्तरीका अध्यक्ष हुन्, विभिन्न राजनीतिकर्मीहरुसँग दबाब खेप्नु परेको छ ।’

 यादवले यसअघि सामाजिक स्तरमा गुहार्दा डा.झाबाट १ करोड ९५ लाख रुपैयाँको चेक समेत पाएको बताए ।

‘सबैतिर गुहार मागेकै हो, यसअघि सामाजिक स्तरमा गुहार्दा प्रतिष्ठा गुम्ने डरले डा.झाले २०७८ असोज ८ गते आफ्नो नाममा रहेको सनराईज बैंक लिमिटेड शाखा राजविराजको खाता नं.०२४१०१४६९२०१४ बाट साटिने गरी १ करोड ९५ लाखको चेक दिएको थियो तर खातामा रकम थिएन अनि ४ पटक चेक बाउन्स भयो’ उनले भने, ‘अन्तिममा बैङ्किक कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) अन्तर्गत कारवाहीका लागि प्रहरी हुँदै अदालतसम्म पुगे । सोही अनुसार उच्च अदालत जनकपुरको वाणिज्य इजलासले जेठ २ गते उनलाई पक्राउ गर्न अनुमति दिएपछि प्रहरीले सक्रियता देखायो ।’

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले डा.झालाई बैङ्किक कसुर मुद्दामा हिरासतमा राखि अनुसन्धान भइरहेको बताए । ‘डा.झालाई जेठ २३ गते काठमाण्डौंबाट नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ’, उनले भने ।

उता, डा.झाका बुवा लोसपा सप्तरीका जिल्ला अध्यक्ष समेत रहेका सुनिलकुमार झाले आफुलाई सो विषयमा स्पष्ट जानकारीसम्म नरहेको प्रतिक्रिया दिए । ‘उनीहरु मुद्दा प्रक्रियामा गएपछि मेरो छोरालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी छ तर स्पष्ट अझैं हुन सकेको छैन्’ उनले भने, ‘विस्तृत जानकारी नै नरहेको विषयमा दबाब दिने कुरै भएन र मैले दबाब दिएको पनि छैन, यद्यपी यी दुई जनाबीच के भएको छ भन्ने विषयमा बुझ्ने प्रयासमा लागेको छु ।’

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780