उपमेयर मीरा विरुद्ध प्रहरीले दर्ता गर्यो मुद्दा (फलोअप)

राजविराज, १७ असार । प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादव विरुद्ध आइतबार नागरिकता सम्बन्धि कसूरमा मुद्दा दर्ता गरेको छ ।

उच्च अदालत जनकपुर, राजविराज इजलासको परमादेशपछि दुवै जना विरुद्ध मुद्दा दर्ता भएको हो । झुठो विवरण पेस गरी नेपाली नागरिकता लिएको भन्दै कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयको नाउँमा परमादेश माग गर्दै दुई महिनाअघि उच्च अदालतमा मुद्दा दायर भएको थियो ।

सो मुद्दामा गत जेठ ५ गते न्यायाधिसद्वय हरिप्रसाद भण्डारी र तेजनारायण सिंह राइको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालयको नाउँमा परमादेशको आदेश गर्दै मुद्दा दर्ता गरी छानबिन गर्न भनेको छ । सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले परमादेशसँगै मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको बताए । ‘नागरिकता सम्बन्धि कसूरमा मुद्दा दर्ता भएको छ’ उनले भने, ‘दर्तासँगै अनुसन्धानका साथै हामी प्रमाण जुटाउने कार्यमा अघि बढाएका छौं ।’

सोही नगरपालिका–४ का ३५ वर्षीय कृष्णकुमार यादवले वारेस राजविराज नगरपालिका–९ का ५७ वर्षीय परमेश्वर यादवमार्फत अदालतमा दायर गरेको सो मुद्दामा प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेको ८ महिना वितिसक्दा समेत कारबाही प्रक्रिया अघि नबढाइएको उल्लेख छ ।

कृष्णले गत साउनको दोस्रो साता जिल्ला प्रशासन कार्यालयमा प्रमाणसहित उपमेयर मीरा र उनका पति महेन्द्र भारतको बिहार राज्य अन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौल निवासी रहेको उजुरी दिएका थिए ।

उजुरीअनुसार विधानसभा निर्वाचन क्षेत्र विहार निर्वाचक नामावली भाग सं.५१ अनुसार श्रीमान् श्रीमति दुवै भारतीय मुलका स्थायी नागरिक रहेता पनि झुठो विवरणको आधारमा नेपाली नागरिकता लिएका छन् । ‘नेपाल देशमा मीरा, महेन्द्र र यी दुवैका छोरा इन्द्रजीतले साविकको सप्तरीको औरही गाविस वडा नम्बर–३ (हाल डाक्नेश्वरी नगरपालिका ६) बाट झुठो विवरणको आधारमा नागरिकता प्रमाण पत्र लिई मिरा सार्वजनिक पद धारण गरी न्याय जस्तो संवेदनशिल न्यायिक समितिको संयोजक पदमा बसी पदिय दायित्व दुरुपयोग गरिरहेकी छन्’, उजुरीमा उल्लेख छ ।

मीरा सार्वजनिक पद धारण गरी न्याय जस्तो संवेदनशील न्यायिक समितिको संयोजक पदमा बसी पदीय दायित्व दुरुपयोग गरिरहेकाले नागरिकता ऐन, २०६३ को दफा नम्बर १२ बमोजिम मीरा, उहाँका पति महेन्द्र र छोरा इन्द्रजीतको नागरिकता प्रमाण पत्र रद्द गरी सोही ऐनको दफा २१ बमोजिम हदैसम्म सजाय गर्न उजुरीमार्फत माग गरिएको थियो ।

भारतको निर्वाचन नामावली २०२२ मा बिहारको क्रम संख्या ६३२ मा महेन्द्रको र ६३३ मा मीराको नाम रहेको भने अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मीराले पेश गरेको शपथ–पत्र तथा भारत निर्वाचन आयोगबाट लिएको पहिचान पत्र समेतबाट उहाँहरू भारतीय रहेको प्रमाण उजुरीमा संलग्न प्रमाण राखिएको छ । सो उजुरी गृह मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय, सप्तरी, डाक्नेश्वरी नगरपालिका तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतलाई बोदार्थ गर्दा समेत अहिलेसम्म कुनै कारबाही भएको छैन् ।

उता, उपमेयर मीराले सो आरोपहरु गलत रहेको बताउँदै आएकी छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780