लागुऔषधको ‘हटस्पट’ बन्दै बेल्ही नाका

चन्ही (सप्तरी) – सप्तरीको बलान विहुल गाउँपालिकास्थित बेल्ही नाका लागुऔषधको ‘हटस्पट’ बन्न थालेको छ । यहाँ खुला सीमानाकाका कारण भारततर्फबाट लागुऔषधको ओसारपोसार ह्वात्तै बढेको पाइएको छ ।

शनिवार भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ठूलो परिमाणको प्रतिबन्धित लागु औषध प्रहरीले बरामद गरेपछि सोबारे खुल्न आएको हो । चेकजाँचको क्रममा दिउँसै भारतीय सीमासँग जोडिएको वडा नम्वर १ मल्हनियाँ सडकखण्डमा यात्रु बोक्ने स १ ह ३६८६ नम्बरको टेम्पोबाट उक्त लागु औषध बरामद गरेको हो ।

टेम्पोमा लोड गरिएको दुई वटा बोराभित्र चामलसँगै प्लास्टिकको झोलामा लुकाइ राखिएको ३ हजार ५२५ थान एम्पुल लागुऔषध बरामद गरिएको सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

उनकाअनुसार फेर्नागन एम्पुल १ हजार १७५ थान, डाइजेपाम एम्पुल १ हजार १७५ थान र बुप्रेर्नोफिन एम्पुल १ हजार १७५ थान बरामद गरिएको छ । प्रतिबन्धित लागु औषध ओसारपोसार गर्ने टेम्पो चालक जिल्लाको बलान बिहुल गाउँपालिका–३ बस्ने ३० वर्षीय राजेन्द्र राम र उनकै बयानका आधारमा वडा नम्वर २ का हरिहरकुमार यादवलाई पक्राउ गरिएको उनले बताए ।

दुवै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ । यहाँका केही व्यक्तिहरु लागुऔषधको कारोबारलाई नै व्यवसाय बनाइसकेको स्थानीयहरु बताउँछन् । ‘पक्राउ परेका व्यक्तिहरु भरिया मात्रै हुन्, मुख्य कारोबारी त अर्कै हुन्’ नाम नछाप्ने सर्तमा एक स्थानीयले भने, ‘उसो त यहाँका लागि लागुऔषधको ओसारपोसार नयाँ विषय नै होइन, भरियाहरु त कति छन्, कति छन्, तर उनीहरुलाई ती समान पुर्याउने स्थानबाहेक अन्य कुरा जानकारी पनि नहोला ।’

खासमा नेपाल प्रहरीले त्यसतर्फ गम्भीर हुनु जरुरी रहेको उनको कथन छ । ‘उता, नाकामा बसेका सशस्त्र प्रहरी बल कतिको गम्भीर छन्?, यतिका परिमाणमा लागुऔषध भित्रिन्छ र नाकामा बस्ने सशस्त्र प्रहरी बललाई केही जानकारी नै हुँदैन्’ उनले भने, ‘लागुऔषधको कारोबार त्यसै बढेको होइन्, विचार गर्नुपर्ने पक्ष चैं बढेको हो कि बढाइएको हो?’

Author:



क्याटोगरी छान्‍नुहोस