बालुवाभित्र राखेर बलान नदी हुँदै १० क्विन्टलबढी गाँजा तस्करी गर्न खोज्दा…

राजविराज, २१ पुस – सप्तरीबाट टिपरमा लोड गरिएको बालुवाभित्र राखेर तस्करी गर्न लागेको ठुलो परिमाणको अवैध गाँजा बरामद गरिएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको खडक नगरपालिका–७ कल्याणपुर चौकस्थित गए राति उक्त गाँजा बरामद गरेको हो ।

विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले को १ ख ५८३१ नम्वरको टिपरलाई चेकजाँच गर्दा १० क्विन्टलबढी गाँजा बरामद भएको शनिवार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए ।

‘२८ वटा बोरामा प्याक गरिएको अवस्थामा फेला परेको उक्त गाँजा १ हजार ६ किलो परिमाणको रहेको छ’, पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक बज्राचार्यले भने, ‘उक्त गाँजा बलान नदी हुँदै भारततर्फ लग्ने योजना रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हो ।’

उनका अनुसार उक्त गाँजा अन्तर्राष्ट्रिय बजारमा ३० देखि ३५ हजार रुपैयाँ प्रति किलो विक्री हुने गरेको छ । गाँजासँगै सवारी धनि समेत रहेका टिपर चालक धनकुट्टाको सहिदभुमी गाउँपालिका–४ का ३२ वर्षीय विशेष राईलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक बज्राचार्यले बताए । ती विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

सोही पत्रकार सम्मेलनमा शुक्रवार दिउँसो जिल्लाको राजगढ गाउँपालिका–२ झौरा चौकबाट श्रोत नखुलेको ५ लाखबढी भारतीय रुपैयासहित पक्राउ परेका एक जनालाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भारत विहार राज्यको मधुबनी जिल्लास्थित भरफोरी ग्राम पञ्चायत सुब्बा टोल–३ का २५ वर्षीय संजय कुमार यादव रहेका छन् ।

बीआर ५० बी १५४२ नम्वरको मोटरसाइकललाईइ चेकजाँच गर्दा पक्राउ परेका यादवको साथबाट श्रोत नखुलेको ५ लाख २९ हजार ९ सय ७० रुपैयाँ बरामद गरिएको प्रहरी उपरीक्षक बज्राचार्यले बताए ।

यादवमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस