कारागार चलान भएको २४ घण्टा नबित्दै सिद्धार्थ पुगे सुविधा–सम्पन्न अस्पताल (फलोअप)

राजविराज, २० साउन–सहकारी ठगी तथा आपराधिक विश्वासघात र आर्थिक अपचलन गरेको आरोपी सिद्धार्थ तातेड पूर्पक्षका लागि कारागार चलान भएको २४ घण्टा नबित्दै सुविधा–सम्पन्न अस्पताल पुगेका छन् ।

राजविराज नगरपालिका वडा नम्वर ३ का वडा सदस्य समेत रहेका सिद्धार्थ गत बिहिवार मात्रै पूर्पक्षका लागि कारागार चलान भएका थिए । कारागार आएको २४ घण्टा नबित्दै स्वास्थ्यमा समस्या देखिएको भन्दै शुक्रबार सिद्धार्थलाई उपचारको लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भर्ना गरिएको राजविराज कारागार स्रोतले बतायो ।

‘शुक्रबारदेखि नै उनी अस्पतालको क्याबिनमा हुनुहुन्छ’ स्रोतले भन्यो, ‘हामीले यहाँ हेर्दा त यतिका दिनसम्म अस्पतालमा बस्नैपर्ने अवस्था जस्तो देखिन, कारागार छल्न विरामीको बहाना बनाएको त होइन, फेरी यहाँबाट प्राय पहिलो चरणमा सरकारी अस्पताल नै पठाउँछ, बाँकी कुरा जेलर सा’बसँग बुझ्नुस् ।’

अस्पतालका व्यवस्थापक दिपेन्द्रकुमार यादवले सिद्धार्थमा पत्थरी र हर्नियाको समस्या रहेको बताए । ‘मृगौलामा पत्थरी र नाइटोमा हर्निया देखिएको छ’ उनले भने, ‘अहिले यही क्याबिनमा हुनुहुन्छ तर अपरेशनबारे विरामीकोतर्फबाट कुरा आइसकेको छैन् ।’

कारागारका प्रमुख प्रविणकुमार अधिकारीले उनमा पेट सम्बन्धि समस्या देखिएपछि उपचारको लागि छिन्नमस्ता अस्पताल पठाइएको बताए । ‘हाम्रो कर्मचारीकै निगरानीमा उपचार भइरहेको छ’ प्राय कैदीलाई उपचारको लागि सरकारी अस्पताल पठाइन्थ्यो, त्यसपछि चिकित्सकको सल्लाहअनुसार अन्य ठाउँमा पठाइँदै आएकोमा अहिले सिधै नीजि अस्पताल नै पठाउनुपर्ने कारण के हो भन्ने प्रश्नमा कारागार प्रमुख अधिकारीले भने, ‘पहिले पनि उहाँ सोही अस्पतालबाट उपचार गराउँदै आएकोले त्यहाँ पठाइएको हो ।’

प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले सो विषयमा आफुलाई कुनै जानकारी नरहेको बताए । ‘त्यस विषयमा के रहेछ म बुझ्दैछु’ उनले भने ।

कति रकम ठगी र अपचलन ?

राजविराजस्थित कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव रहदा सिद्धार्थसहितका सञ्चालक समितिले ठगी तथा आपराधिक विश्वासघात र आर्थिक अपचलन गरेको भन्दै जाहेरी परेपछि उनलाई साउन ३ गते बिहिवार नै पक्राउ गरिएको थियो ।

गत बिहीबार भएको थुनछेक बहसपछि सप्तरी जिल्ला अदालतका न्यायाधिश संजीव पोखरेलको एकल इजलासले राजविराज नगरपालिका–३ बस्ने सिद्धार्थलाई पूर्पक्षका लागि कारागार चलान गरेका हुन् ।

राजविराज जेसिजका पूर्व अध्यक्ष समेत रहेका सिद्धार्थसहितका सञ्चालक समितिले सहकारीमा बचतकर्ताहरूको रकम फिर्ता नगरेपछि ४६ जना बचतकर्ताहरूले संयुक्त जाहेरी दिएका थिए ।

जाहेरीअनुसार सिद्धार्थसहितका सञ्चालक समितिले बचतकर्ताहरुको ३ करोड २ लाख ९४ हजार ४३६ रुपैयाँ फिर्ता गरेको छैन् भने सिद्धार्थसहितकाले सहकारी संस्थाको पनि करिब एक करोेड रुपैयाँ अपचलन गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।

उनका अनुसार फरार रहेका सञ्चालक समितिका अध्यक्ष बेचन यादवसहितकाको खोजी कार्य भइरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार