चोरी शिकारी गिरोहमा पूर्व डिआईजी नै परेपछि रातारात फेरियो प्रहरीको बोली 

राजविराज, १४ भदौ–सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ योगिनियाँस्थित कोशी पलार क्षेत्रबाट पक्राउ परेका १० जना चोरी शिकारी गिरोहमा पूर्व डिआईजी नै परेपछि रातारात प्रहरीको बोली फेरिएको छ ।

बुधवार मध्ये राति गाँजा तस्कर पछ्याउँदै त्यहाँ पुगेको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर सुशान्त मिश्र नेतृत्वको टोलीले गोली हानेर मारेको बँदेल र हतियारसहित नेपाल प्रहरीका पूर्व डिआईजी ६१ वर्षीय ज्ञानविक्रम शाह, बहालबाला सई सञ्जय न्यौपानेसहित १० जना शिकारीलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्ने बेलामा पूर्व डिआईजीबारे जानकारी नभएको होइन । तर, इन्स्पेक्टर मिश्रले बँदेललाई वेवारिसे मानेर उनीहरुलाई छाड्न नमानेका कारणले सो विषय बाहिरिएको श्रोतले बतायो । ‘त्यसपछि पनि इन्स्पेक्टर मिश्रलाई सोहीअनुसार नै मुचुल्का उठाउन दबाब दिइरह्यो तर उनी कुनै पनि हालतमा मान्न तयार भएन’ श्रोतले भन्यो, ‘उता स्थानीयले पनि घटनाबारे जानकारी पाइसकेका कारण प्रतिक्रिया लिएका अधिकांश मिडियाकर्मीसँग जिल्ला (जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डिराज नेउपाने)बाट पूर्व डिआईजीसहितका शिकारीबारे जानकारी दिइयो ।’

तर, २४ घण्टा नवित्दै पूर्व डिआईजीसहित १० जना चोरी शिकारी गिरोहलाई प्रहरीले जिम्मा जमानीमा छाडेको छ ।

प्रहरीले को२त ६९ नम्बरको ट्याक्टर र त्यसमा रहेको गोली हानेर मारेको बँदेललाई वेवारिसे अवस्थामा फेला परेको मुचुल्का तयार गरी सवडिभिजन वन कार्यालय कंचनपुरमा पठाएको छ । सवडिभिजन वन कार्यालयका रेन्जर सन्तोष यादवका अनुसार प्रहरीले बेवारिसे अवस्थामा ट्याक्टर र त्यसमा लोड रहेको बँदेल फेला परेको पत्रसहित बिहीबार साँझ पठाएको बताए । उक्त घटनामा बरामद गरिएको २२ क्यालिवरको राइफल र गोली अनुमति प्राप्त हो वा होइन भन्ने स्पष्ट खुल्न सकेको पनि छैन् ।

सप्तरीका प्रहरी प्रमुख एसपी गजुसिद्धि बज्राचार्यले राइफलको अनुमति पत्रको फोटोकपी पेस गरेको बताए । उनले पूर्व डिआईजी शाहको नाममा राइफलको अनुमतिपत्र रहेको बताए पनि राइफल राख्ने अनुमति कुन क्षेत्र र कुन प्रयोजनका लागि दिइएको भन्ने खुलाउन सकेनन् ।

डिएसपी नेपालको पत्रमा विवरण नै गलत  

पूर्व डिआईजीसहितका शिकारी गिरोहलाई छाड्न प्रहरीले सवडिभिजन वन कार्यालयमा पठाएको पत्रमा पनि गलत विवरण नै उल्लेख गरेको छ । सो पत्रअनुसार ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी महेन्द्र नेपालको नेतृत्वमा पुगेको टोलीले वेवारिसे अवस्थामा मृत बँदेल तथा हतियारसहित पूर्व डिआईजी शाहसहितकालाई पक्राउ गरिएको उल्लेख छ ।

तर, सो कुरा गलत रहेको डिएसपी नेपाल नै स्वीकार गर्छन् । ‘पत्रमा त्यही रैंछ तर मेरो नेतृत्वको टोली होइन, अर्कै हो’ उनले भने, ‘सो पत्रमा कसरी त्यस्तो लेखियो त्यो बुझ्दैछु ।’

श्रोतकाअनुसार टोलीको नेतृत्व गर्ने इन्स्पेक्टर मिश्रले गलत मुचुल्का तयार गर्न नमानेपछि टोलीको नेतृत्वकर्ता डिएसपी नेपाल आफैं बनेर सवडिभिजन वन कार्यालयमा पत्र पठाएको हो । ‘ठुलो चलखेल गरेर ती गिरोहलाई छाडियो, कानूनको पनि कुरै रहेन ।’, श्रोतले भने ।

ती गिरोहमा सुनसरीको इटहरी उपमहानगरपालिका–२ का ६१ वर्षिय पूर्व डिआईजी र सईसँगै पूर्व उपसभामुख गंगाप्रसाद यादवको छोरा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–९ का ३७ वर्षिय आकाश यादव, सोही नगरपालिका–२ का ५१ वर्षिय जनार्दन राउत, ५ का २३ वर्षीय ओमशंकर प्रसैला, १ का ५० वर्षीय लक्ष्मण मण्डल र वडा नम्वर ३ पोर्ताहाका ५१ वर्षीय शंकरप्रसाद यादव, तिरहुत गाउँपालिका–२ का २१ वर्षीय लक्ष्मण मण्डल, राजविराज नगरपालिका–७ का २५ वर्षीय रविन दास र सुनसरीको इटहरी उपमहानगरपालिका–१० का ३३ वर्षीय प्रदिप लिम्बु पक्राउ परेका थिए ।

उनीहरुसँग २२ क्यालिबर राइफलसँगै सो राइफलमा लाग्ने १५ राउण्ड गोली, २ थान म्यागजिन, वाइनाकुलर ३ थान, ट्राइपोर्ट, हथौडा र खुर्पा एक–एक थान, प्रदेश ३–०१–०२२ च ६८५५ नम्बरको स्कारपियो र को २ त ६९ नम्बरको ट्रयाक्टर बरामद भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780