जनकपुरधाम–कक्षा ११ र १२ मा फेल भएर पढाइ पूरा गर्न नसकेका २०५६ सालयताका परीक्षार्थीले मौका परीक्षा दिन पाउने भएका छन्।
२५ वर्षअघि कक्षा ११ र १२ मा भर्ना भएका र तर पढाइ पूरा गर्न नसकेका परीक्षार्थीहरुले मौका परीक्षा दिन पाउने भएका हुन् ।
मौका परीक्षामा सहभागी हुन इच्छुकहरुलाई २०८१ मंसिर २७ गतेसम्म सम्बन्धित विद्यालयमार्फत परीक्षा फाराम भर्न राष्ट्रिय परीक्षा बोर्डले भनेको छ ।
राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार रजिस्ट्रेसन नम्बरको सुरूको अंक ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम भएका परीक्षार्थीहरू सहभागी हुन पाउनेछन्।
अंकन प्रणालीमा कुनैपनि विषयमा अनुत्तीर्ण भएका तथा अक्षरांकन पद्धतिमा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीहरू सहभागी हुन पाउनेछन्।
प्रयोगात्मकतर्फ फेल भएका विद्यार्थीहरू पनि सहभागी हुन पाउने बोर्डले जनाएको छ। ११ र ११ दुवैमा फेल भएका परीक्षार्थीहरूले पनि परीक्षामा सहभागी हुनका लागि फाराम भर्न सक्नेछन्।
त्यस्ता विद्यार्थीहरूले सम्बन्धित विद्यालयबाट मंसिर २७ गतेभित्र आवेदन फाराम भरिसक्नुपर्नेछ। त्यस्तै त्यतिबेला सञ्चालनमा रहेका तर हाल खारेज भइसकेका वा सञ्चालनमा नरहेका विद्यालयका विद्यार्थीहरूले पनि बोर्डमा सोझै सम्पर्क राखेर आवेदन फाराम बुझाउन सक्नेछन्।
परीक्षा केन्द्र र मिति आवेदन फारामको संख्या अनुसार पछि तोकिने पनि बोर्डले जनाएको छ।