राजविराज–सोमबार राति प्रहरीले सप्तरीको राजगढ गाउँपालिका वडा नम्वर ४ बेल्ही चपेनाबाट १७ क्विन्टल १७ किलो लागुऔषध गाँजा बरामद गर्यो । टिपर र टिपरका चालकसहित बरामद गरिएको उक्त गाँजा मंगलबार विहान जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा एसपी ढकेन्द्र खतिवडाले को १ ख ६५०३ नम्वरको टिपर र चालक धनकुटाको शहिदभूमि गाउँपालिका–३ बस्ने ३३ वर्षीय यमजित राईसहित उक्त गाँजा बरामद गरिएको जानकारी दिए ।
विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय कल्याणपुरका इन्सपेक्टर डम्बर विश्वकर्माको कमाण्डमा खटिएका प्रहरी टोलीले पत्थरगाढाबाट झुटकीतर्फ गइरहेको उक्त गाँजा बरामद गरेको थियो । उक्त गाँजा टिपरमा लोड गरिएको बालुवाभित्र राखेर तस्करी गर्न लागेको थियो ।
५६ वटा बोरामा प्याक गरेर टिपरमा लोड गरि वालुवाभित्र छोपेर तस्करी गर्न लागेको अवस्थामा फेला परेको उक्त गाँजा र चालकबारे थप अनुसन्धान भइरहेको एसपी खतिवडाको भनाई छ ।
तर, पत्रकार सम्मेलनमा प्रहरीले सवारी धनिबारे खुलाएन । यसअघि गत पुस २० गते राति पनि प्रहरीले जिल्लाको खडक नगरपालिका–७ कल्याणपुर चौकबाट १० क्लिन्टल ६ किलो गाँजा बरामद गरेको थियो ।
उक्त गाँजा पनि टिपरमा लोड गरिएको बालुवाभित्रै लुकाएर तस्करी गर्न लागेको अवस्थामा बरामद भएको थियो भने को १ ख ५८३१ नम्वरको टिपर र चालक धनकुट्टाको शहिदभुमी गाउँपालिका–४ बस्ने ३२ वर्षीय विशेष राईलाई नियन्त्रणमा लिएको थियो ।
अर्थात अहिले नियन्त्रणमा लिइएका चालक राई पनि सोही गाउँपालिकाका हुन् । त्यतिबेला नियन्त्रणमा लिइएका चालक विशेष राईलाई नै टिपरका धनि बताएर थप अनुसन्धान अघि बढाएका थिए । तर, मधेशलाइभको अनुसन्धानले विशेष राई चालक मात्रै रहेको देखिएको छ ।
यातायात कार्यालयका विवरणअनुसार को १ ख ५८३१ नम्बरको टिपर सिटिजन बैंक, धरानबाट फाइनान्स गरिएको छ भने रामप्रसाद राई ऋणी अर्थात टिपरधनि हुन् । तर, प्रहरीले चालक विशेष राईलाई नै सवारी धनि बताएर अनुसन्धान अघि नबढाउँदा गाँजा तस्करी गर्ने नाइकेसम्म पुग्न सकेन ।
अहिले पुनः सोही प्याटर्नमा गाँजा तस्करी गरिरहेका सोही गाउँपालिकाका चालक यमजित राईलाई १७ क्लिन्टल १७ किलो गाँजासहित नियन्त्रणमा लिएको छ । तर, सवारी धनिबारे खुलाइएको छैन् ।
समान्यतया सवारीसाधन चलाउनेले सवारीधनि प्रमाणपत्र अर्थात ब्लुबुक साथमै बोक्नुपर्ने हो । र, टिपर चालक यमजित राईसँग पनि कागजातहरु भेटिएको गाँजा नियन्त्रण गर्न खटिएको ईस्पेक्टर विश्वाकर्माले पत्रकार सम्मेलनमा बताए । तर, अनुसन्धान भइरहेको भन्दै टिपर धनिको नाम उल्लेख नगरिदा पुनः चालकलाई नै टिपरधनि बताएर अनुसन्धान सकिने हो की ? आशंका बढेको छ ।