नवलपुर, ५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व–पश्चिम राजमार्गको चौडा बनाउने कार्य अन्तर्गतको नारायणगढ–बुटवल खण्डको सडक तोकिएको समयमा नै सम्पन्न हुने बताएका छन्।
प्रधानमन्त्री ओलीले आज उक्त सडकको गैँडाकोट खण्डको निरीक्षण गर्दै निर्माण कार्यमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। निरीक्षणका क्रममा प्रधानमन्त्री ओलीले निर्माणमा संलग्न ‘चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेशन लिमिटेड’का प्रतिनिधिसँग पनि सडकको प्रगतिबारे जानकारी लिएका थिए।
सडक निरीक्षणमा प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र मन्त्रालयका सचिव केशव कुमार शर्मा समेत सहभागी थिए।
देशको मुख्य राजमार्गमा लामो समयदेखि निर्माण कार्य ढिलाइ हुँदा सर्वसाधारणलाई असहज भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कार्यलाई तीव्रता दिई तोकिएको समयभित्रै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।