जनकपुरधाम, २९ वैशाख । धनुषाको मिथिला विहारी नगरपालिका–८ स्थित ठेरा कचुरीमा आयोजित बिहे भोजको खाजा खाँदा सयभन्दा बढी मानिस बिरामी परेका छन्।
नरेश महराको छोरीको विवाहमा जन्ती र स्थानीयले खाजा खाएको केही समयमै पेट दुख्ने, बान्ता आउने, र कमजोरी हुने लक्षण देखिन थालेपछि घटनाको जानकारी सार्वजनिक भएको हो। जनकपुर उपमहानगरपालिका–२३ बिन्धीबाट जन्ती पुगेको थियो। स्वयम्बर सकिएपछि खाजामा बुनियाँ, रसबरीलगायतका परिकार खुवाइएको थियो। खाजा खाएपछि एकैपटक धेरै जनामा स्वास्थ्य समस्या देखिएपछि स्वास्थ्यकर्मीको टोली खटाइएको थियो।
जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवका अनुसार अहिलेसम्म ४५ जना भन्दा बढीलाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ भने अन्यलाई स्थानीय क्लिनिक र अस्पतालमा उपचार भइरहेको छ। केही बिरामीहरू उपचारपछि घर फर्किसकेका छन्।
स्वास्थ्य कार्यालयले खाद्य विषाक्तता हुन सक्ने आशंकामा थप अनुसन्धान अगाडि बढाएको जनाएको छ। यस्तो घटना नदोहरियोस् भनेर भोजमा सरसफाइ, खाना पकाउने प्रक्रिया र सामग्रीको गुणस्तरमा विशेष ध्यान दिन विज्ञहरूले सुझाव दिएका छन्।