सिरहा, १४ साउन । सिरहाको धनगढीमाई नगरपालिका–११ आमचोकमा मंगलवार राति ८० वर्षीय फनिलाल यादवको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ।
मृतकका छोरा कपिलदेव यादवका अनुसार फनिलाल यादव सुतिरहेको अवस्थामा अज्ञात समूहले टाउकोमा धारिलो हतियारले आक्रमण गरेको हो। बिहान अबेरसम्म नउठेपछि परिवारजनले बोलाउन गएका बेला उनी गम्भीर घाइते अवस्थामा फेला परेका थिए। उनलाई तत्काल लहानस्थित प्रादेशिक अस्पताल पुर्याइएको तर उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिएका छन्।
घटनापछि आक्रोशित स्थानीयले ‘हत्यारालाई पक्राउ गर’ र ‘प्रहरी प्रशासन मुर्दावाद’ जस्ता नारासहित पूर्व–पश्चिम राजमार्गको धनगढी बजार क्षेत्रमा टायर बालेर करिब एक घण्टा सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका छन्।
प्रहरीका प्रवक्ता पासवानका अनुसार प्रारम्भिक अनुसन्धानमा घटना पारिवारिक विवाद वा पुरानो रिसिइबीका कारण हुनसक्ने आशंका गरिएको छ। घटनामा संलग्न दोषीको पहिचान गरी कानुनी कारबाही अघि बढाउन अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ।