शिक्षामन्त्री महाबीर पुनको प्रश्न– सुगम मधेश अझै असाक्षर किन ?

राजविराज । नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाबीर पुनले मधेश प्रदेशमा शिक्षा र साक्षरता अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत उनले मधेश प्रदेशका आठै जिल्लाहरू अझै साक्षर जिल्ला घोषणा हुन नसक्नु शिक्षाको कमजोर अवस्थाको सूचक भएको बताएका हुन् । उनले लेखेका छन्– मधेश प्रदेशका ८ वटै जिल्लाहरु अहिले सम्म साक्षर जिल्ला भनेर घोषणा गरिएका रहेका छैनन् । कर्णाली प्रदेशका २ जिल्ला बाहेक नेपालका अरु सबै जिल्लाहरु साक्षर घोषणा भइसकेका रहेका छन् ।

उनले अगाडि लेखेका छन्– मधेश जस्तो सुगम ठाउँमा पनि किन यस्तो भयो र मधेशमा खस्केको सामुदायिक शिक्षाको सुधार गर्न के के गर्नुपर्ला भनेर अध्ययन गरी यथाशीघ्र रिपोर्ट पेश गर्न मधेश प्रदेश के राजनीतिक दल र विज्ञहरुको टोली गठन गर्दैछु । मन्त्री पुनका अनुसार, मधेश प्रदेश जस्तो पहुँचयुक्त र जनघनत्व बढी भएको क्षेत्रमा समेत साक्षरता अभियान अपेक्षित परिणाम दिन नसक्नु राज्यको शिक्षा नीति र कार्यान्वयनमा कमजोरी रहेको संकेत हो ।

मन्त्री पुनले यस अवस्थाको गहिरो अध्ययन गरी सामुदायिक विद्यालयहरूको गुणस्तर सुधारका लागि ठोस योजना तयार पार्नुपर्ने आवश्यकता औंल्याएका छन् । शिक्षा क्षेत्रका विज्ञहरूका अनुसार मन्त्री पुनको अभिव्यक्ति शिक्षाको गुणस्तर र साक्षरतासँग सम्बन्धित राष्ट्रिय छलफललाई नयाँ दिशातर्फ लैजाने अपेक्षा गरिएको छ
साक्षर घोषणा नभएका मधेशका आठ जिल्लामा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा छन् । यस्तै कर्णाली प्रदेशका कालीकोट र डोल्पा रहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस