धरानका हर्क साम्पाङले दर्ता गराए श्रम संस्कृति पार्टी

काठमाण्डू, १६ कातिक । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको नेतृत्वमा गठन भएको नयाँ राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’लाई निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ ।

आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ अनुसार दर्ता प्रक्रिया पूरा गरी पार्टीलाई औपचारिक मान्यता दिएको हो । आयोगका अनुसार हालैको जेन जी आन्दोलनपछि नयाँ राजनीतिक दल दर्ताका लागि सातवटा आवेदन प्राप्त भएका थिए, जसमा साम्पाङको श्रम संस्कृति पार्टी सबैभन्दा पहिला प्रमाणपत्र पाउने दल बनेको छ ।

दल दर्ता प्रमाणपत्र प्राप्त गरेपछि साम्पाङले आफ्नो पार्टी देश र जनताको सेवामा समर्पित हुने बताएका छन् । उनले भने, “हामी २८ सदस्यीय कार्यसमिति गठन गरिसकेका छौँ, हाम्रो लक्ष्य देश र जनताका लागि इमानदारीपूर्वक काम गरेर उदाहरण प्रस्तुत गर्नु हो ।”

साम्पाङले स्थानीय स्तरमा लोकप्रिय रूपमा पहिचान बनाएका जनप्रतिनिधि हुन्, जसले धरान उपमहानगरपालिकाको नेतृत्व गर्दै श्रम, इमानदारी र सामाजिक जिम्मेवारीलाई मुख्य एजेन्डा बनाउँदै आएका छन् ।

निर्वाचन आयोगका अनुसार हालसम्म देशभर १२५ वटा राजनीतिक दल दर्ता छन् । श्रम संस्कृति पार्टीले अब आफ्नो नीतिगत एजेन्डा सार्वजनिक गर्दै आगामी राजनीतिक यात्राको तयारी सुरु गर्ने बताइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस