काठमाडौँ । ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई नेपाल सरकारले सहिद घोषणा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौंसहित देशका विभिन्न स्थानमा मृत्यु भएका ती ४५ जनालाई राज्यको तर्फबाट सहिद घोषणा गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार, गृह मन्त्रालयअन्तर्गतको सहसचिवको नेतृत्वमा गठित समितिले जिल्ला प्रशासन कार्यालय, सरोकारवाला निकाय र सुरक्षा संस्थासँगको अध्ययनका आधारमा सहिद घोषणा गर्न सिफारिस गरेको थियो। मन्त्री खरेलले बाँकी मृतकको सम्बन्धमा अझै अध्ययन भइरहेको र त्यसको प्रतिवेदनका आधारमा थप निर्णय हुने जानकारी दिएका छन् ।
‘जेनजी आन्दोलन’का क्रममा प्रदर्शनकारी, कैदीबन्दी र अन्य गरी ७२ जनाभन्दा बढीको ज्यान गएको थियो । यसअघि सरकारले आन्दोलनका सहिद परिवार र घाइतेहरूलाई आर्थिक सहयोग उपलब्ध गराइसकेको छ ।
काठमाडौँ महानगरपालिका–११ का ईस्वतबहादुर अधिकारी, कीर्तिपुर–२ का बुद्धि बहादुर तामाङ, उदयपुरका सन्तोष विश्वकर्मा, बाँकेका सुलभ राज श्रेष्ठ र आयुष थापा, मोरङका श्रीयम चौलागाईं, कैलालीका गौरव जोशी, सिन्धुपाल्चोकका योगबहादुर श्रेष्ठ र उमेश महतलाई सहिद घोषणा गरेको छ । यसैगरी पर्साका असहाव आलम ठकुराई, बागलुङका सौरन किशोर श्रेष्ठ, बझाङका सुभाष कुमार बोहरा र भीमराज धामी, काभ्रेका रसिक खतिवडा खत्री र दिल नारायण तामाङ, ललितपुरका विनोद महर्जन, सिन्धुलीका योगेन्द्र न्यौपाने, मिलन राई र दिपेश सुनुवार, धनकुटाका छत्रमान कुथुमी, बाजुराका ओझन बुढाल सहिदको सूचीमा समावेश भएको छ ।
यसैगरी उदयपुरका सार कुमार राई, नुवाकोटका शभराज बलामी श्रेष्ठ, लच्छुमान राई र धिरज श्रेष्ठ, सर्लाहीका देवकुमार सुवेदी, सङ्खुवासभाका प्रविण कुलुङ, चितवनकी निखिता गौतम, दोलखाका अभिषेक चौलागाईं र महेश बुढाथोकी, सिरहाका विजय चौधरी, बैतडीका निरज पन्त र दीपक सिंह साउदलाई सहिद घोषणा गरिएको छ ।
यस्तै सुनसरीका अभिषेक श्रेष्ठ, साजन राई र मोहन सरदार, अर्घाखाँचीका माधव सारु मगर, गोरखाका बिमल बाबु भट्ट, अर्जुन भट्ट र अनिश पराजुली, झापाका ज्ञानेन्द्र सेढाईं र दिनेश राजवंशी, पाँचथरका कमल भण्डारी, कास्कीका अमृत गुरुङ र दार्चुलाका उत्तम थापा पनि सहिद घोषणा भएका छन् ।