उपराष्ट्रपति यादवसँग कतारका राजदूतको भेट : श्रम, व्यापार र द्विपक्षीय सम्बन्धमा छलफल

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका महामहिम राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेंट गरेका छन् ।

भेंटमा शुभकामना आदानप्रदानपछि नेपाल–कतारबीचको द्विपक्षीय सम्बन्ध, श्रम तथा आप्रवासन, व्यापार, बहुपक्षीय तथा क्षेत्रीय मञ्चहरूमा सहकार्यलगायतका विषयमा महत्वपूर्ण छलफल भएको छ । उपराष्ट्रपति यादवले सन् १९७७ मा कुटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र कतारबीचको मित्रता आपसी सम्मान, विश्वास र सहयोगमा आधारित रही उत्कृष्ट रूपमा विकसित हुँदै आएको बताए ।

संयुक्त राष्ट्रसंघ तथा असंलग्न आन्दोलनका सदस्य राष्ट्रका रूपमा दुवै देशबीच बहुपक्षीय सहकार्य गरिएको उल्लेख गर्दै उनले उच्चस्तरीय भ्रमणहरूको आदानप्रदानले द्विपक्षीय सम्बन्ध अझ मजबूत बनेका बताएका छन् । कतारमा करिब ३ लाख ६५ हजार नेपाली श्रमिक कार्यरत छन्। उनीहरूले कतारको अर्थतन्त्रमा पुर्याइरहेको योगदान तथा नेपालमा रहेका परिवारलाई दिएको सहयोगले नेपालको अर्थतन्त्रलाई सुदृढ पारेका छन् भन्दै उपराष्ट्रपति यादवले सुरक्षित र सम्मानजनक वैदेशिक रोजगारी सुनिश्चित गर्ने सरकारी प्रतिवद्धता दोहोर्याएका छन् ।

उनले सन् २०२५ को रमादान तथा ईदका अवसरमा नेपाली बन्दीहरूलाई प्रदान गरिएको ‘अमीरी क्षमादान’ प्रति आभार व्यक्त गरे । नेपालले २०२६ मा अतिकम विकसित मुलुकको श्रेणीबाट बाहिरिन र २०३० सम्म मध्यम आय भएको देश बन्ने लक्ष्य राखेकाले कतारसहित मित्र राष्ट्रहरूबाट थप सहयोग आवश्यक रहेको पनि बताए । उपराष्ट्रपति यादवले काठमाडौँ–दोहा प्रत्यक्ष उडानलाई अझ प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्दै यसले पर्यटन प्रवद्र्धन तथा व्यापार विस्तारमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचान कतारी पर्यटकका लागि आकर्षक गन्तव्य हुनसक्ने बताइएको छ । महामहिम राजदूत अल अन्सारीले नेपाल–कतार सम्बन्ध ऐतिहासिक रूपमा बलियो रहेको भन्दै नेपाल सरकारको अनुरोधमा ३० जना नेपालीलाई कारागारबाट रिहा गरिएको जानकारी गराएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस