निता थापा
नेपालको संविधानले बहुदलीय व्यवस्था र वैचारिक स्वतन्त्रताको ग्यारेन्टी गरेको छ। बहुदलीय प्रणालीको सुन्दरता नै “फरक मत” राख्न पाउनु हो। तर, पछिल्लो समय सामाजिक सञ्जालका भित्ताहरू हेर्दा लाग्छ— हामी लोकतन्त्रबाट सिधै ‘भिडतन्त्र’ र ‘साइबर अराजकता’ तर्फ धकेलिँदै छौँ। यहाँ कसैलाई समर्थन गर्नु वा आफ्नो विचार राख्नु अब वैचारिक बहसको विषय रहेन, बरु यो त चरित्रहत्या र मानसिक हिंसा निम्त्याउने एउटा डरलाग्दो बाटो बनेको छ।
विचारको लडाइँ र नग्न गालीगलौज
हालै एउटा भिडियो चर्चामा रह्यो, जहाँ अमिसा पराजुली नामकी एक युवतीले केपी ओलीको पक्राउको विरोध गर्दै सडकमा आफ्नो धारणा राखिन्। उनले कसलाई समर्थन गरिन् वा कसको विरोध गरिन्, त्यो उनको व्यक्तिगत र राजनीतिक अधिकारको कुरा हो। तर, त्यसपछि उनले सामना गर्नुपरेको टिप्पणीहरूले हाम्रो समाजको एउटा निकै नै कुरुप र घृणित अनुहार उदाङ्गो पारेको छ।
एउटी चेलीले आफ्नो नेताको पक्षमा बोल्दा उनलाई “बलात्कार गर्ने” धम्की दिनु, “कमर मुनि सुम्सुमाउन पल्केकी” भन्नु र स्तरहीन गाली गलौजमा उत्रिनु कुन स्तरको मानवता हो? के नेपालमा अब “कालोलाई सेतो” भन्न पाउने अधिकार छैन? यदि कसैले बहुमतको धारभन्दा फरक विचार राख्यो भने उसलाई सामाजिक रूपमा नग्न बनाउन खोज्नु के यही हो हामीले ल्याएको बहुदलीय व्यवस्था?
अनुभवको साझा पीडा: गगन थापादेखि रबि-बालेनसम्म
यो अमिसाको मात्र कथा होइन। यो त प्रतिनिधि पात्र मात्र हुन्। मैले आफैँले पनि गगन थापाको समर्थन गर्दा यस्तै निकृष्ट व्यवहारको सामना गर्नुपरेको छ। “गगनले एक रातको कति दिन्छ?” भन्ने जस्ता प्रश्न सोधिँदा र नक्कली फोटो/भिडियो बनाएर चरित्रहत्या गर्न खोज्दा लाग्छ— के यो समाजमा एउटी महिलाले कुनै नेतालाई उनको विचारका आधारमा मन पराउनै नहुने हो?
आज रबि लामिछाने वा बालेन शाहका समर्थकहरूले अमिसालाई गाली गरिरहँदा भोलि यही अस्त्र उनीहरू विरुद्ध पनि प्रयोग हुन सक्छ। यदि आज एउटी युवतीलाई विचारकै आधारमा “कमर मुनि सुम्सुमाएको” आरोप लाग्छ भने, भोलि रबि वा बालेनका पक्षमा बोल्ने महिलाहरूले पनि त्यही लेभलको हिलो छ्यापाई सहनुपर्ने निश्चित छ। यो चक्र निकै खतरनाक छ। विपक्षीलाई गाली गर्ने बहानामा महिलाको अस्मितामाथि खेल्नु ‘डिजिटल बलात्कार’ सरह हो।
समाज कता जाँदै छ?
हाम्रो समाज यतिसम्म गिर्दै छ कि यहाँ तर्क सकिएपछि मान्छे सिधै लिंग र चरित्रमा पुगेर प्रहार गर्छ। के बालेन, रबि वा गगनका समर्थकहरूले अरूलाई समर्थन गर्नेलाई मान्छे नै गन्न छोडेका हुन्? बहुदलीय व्यवस्थामा सबैले एउटै मान्छेलाई भगवान् मान्नुपर्छ भन्ने छैन। आफ्नो आस्था र विश्वास फरक हुन सक्छ। तर, फरक भएकै आधारमा “बलात्कार गर्छु” भन्नु र खुलेआम यौनजन्य हिंसा गर्नु कानुनी र नैतिक दुवै रूपमा अपराध हो।
निष्कर्ष
अमिसा पराजुलीले भोगेको गाली र मैले गगन थापालाई समर्थन गर्दा भोगेको तिरस्कार एउटै सिक्काका दुई पाटा हुन्। हामीले बुझ्नुपर्छ कि राजनीति विचारको लडाइँ हो, यो कसैको इज्जत लिलाम गर्ने थलो होइन। आज हामीले अरूकी छोरी-चेलीलाई साइबर सडकमा नाङ्गो बनाउन खोज्दा, भोलि हाम्रै घरका चेलीहरू पनि त्यसैको सिकार हुनेछन्।
यदि हामी साच्चै लोकतन्त्रवादी हौँ भने विचारलाई विचारले काटौँ, गालीले होइन। कसैको समर्थन गर्नु उसको अधिकार हो, तर त्यसैको आडमा उसको अस्मितामाथि धावा बोल्नु समाजको पतनको संकेत हो। अब सोच्ने बेला आएको छ— हामी कस्तो समाज निर्माण गर्दै छौँ? जहाँ फरक मतको सम्मान हुन्छ, कि जहाँ फरक मत राख्ने महिलाले बलात्कारको धम्की सहनुपर्छ? Source:facebook