सर्लाही । काठमाडौँमा गणेश नेपालीको आत्मदाह घटनाको चर्चा भइरहेकै बेला सर्लाहीमा पनि एक युवकले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्।
घटनामा गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ। गोडैता नगरपालिका निवासी ३५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा आगो लगाएका हुन्। घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उनको उद्धार गरी मलंगवास्थित प्रादेशिक अस्पताल पुर्याइएको थियो। अस्पतालमा आवश्यक विशेषज्ञ उपचार सम्भव नभएपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं रिफर गरिएको सशस्त्र प्रहरी बलका डीएसपी एकराज बुर्लाकोटीले जानकारी दिए।
प्रारम्भिक जानकारीअनुसार विवेक केही समयदेखि बेरोजगारी तथा आर्थिक समस्याका कारण मानसिक तनावमा रहेको बुझिएको छ। उनले विज्ञान विषयमा स्नातकोत्तर (एमएस्सी) अध्ययन पूरा गरेका थिए। केही समय मलंगवास्थित एक कलेजमा प्राध्यापन गरेका उनी करिब एक वर्षअघि जागिर गुमाएपछि नियमित रोजगारीविहीन रहेको बताइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।