सप्तरीका भेटेरिनरी कार्यालय प्रमुख डा. राम पवित्र दासविरुद्ध भ्रष्टाचार मुद्दा दायर

राजविराज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको राजविराजस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख डा. राम पवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार भ्याक्सिनेटरहरूले खोप कार्यक्रम सम्पन्न गरेपछि पाउनुपर्ने पारिश्रमिक भुक्तानी गराइदिएबापत २० प्रतिशत कमिसनस्वरूप घुस मागेको भन्ने उजुरीका आधारमा अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा दुवै जनालाई घुसस्वरूप लिएको रु. १ लाख ३२ हजार ३५० सहित नियन्त्रणमा लिइएको थियो।

आयोगले कार्यालय प्रमुख डा. दासले सवारी चालक यादवसँग मिलेमतो गरी भ्याक्सिनेटरहरूलाई कानुनबमोजिम पाउनुपर्ने भुक्तानी रकम उपलब्ध गराइदिने नाममा कम्तीमा २० प्रतिशत रकम घुस दिन बाध्य बनाएको निष्कर्ष निकालेको जनाएको छ।

अख्तियारका अनुसार दुवै जनाले रु. १ लाख ३२ हजार ३५० घुस लिएको पुष्टि भएपछि उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१)(ग) अनुसार कसुर कायम गरी सोही रकम बराबरको बिगो, जरिवाना तथा कैद सजायको मागदाबी गर्दै बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

यस सम्बन्धमा जानकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले प्रेस विज्ञप्तिमार्फत दिएका हुन्।

Author:



क्याटोगरी छान्‍नुहोस