राजविराज । सप्तरीको राजविराजमा अवस्थित मधेश प्रदेश कृषि विश्वविद्यालय र अमेरिकी संस्था पिस कोर्प बीच शैक्षिक अनुसन्धान तथा सांस्कृतिक विकासका क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ ।
बुधबार राजविराजमा आयोजित एक समारोहका बीच मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराईको उपस्थितिमा विश्वविद्यालयका उपकुलपति डा. वैद्यनाथ महतो र पिस कोर नेपालका राष्ट्रिय निर्देशक डा. किम नजबुल्लाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार दुवै संस्थाले शैक्षिक अनुसन्धान, सीप विकास, सांस्कृतिक आदान–प्रदान तथा अन्य शैक्षिक गतिविधिमा सहकार्य गर्नेछन् ।
कार्यक्रममा अर्थमन्त्री भट्टराईले कृषि विश्वविद्यालय र पिस कोरबीच भएको सम्झौता भविष्यमा महत्वपूर्ण उपलब्धिका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे । नेपालमा पिस कोर्पको लामो इतिहास रहेको उल्लेख गर्दै उनले कृषि तथा शिक्षा क्षेत्रको विकासमा संस्थाले सकारात्मक योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
विश्वविद्यालयका रजिस्ट्रार डा. श्रीभगवान ठाकुरले दिएको जानकारी अनुसार सम्झौता कार्यान्वयनपछि विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धान, सीप विकास र सूचना प्रविधिको विस्तारमा सहयोग पुग्नेछ । परियोजना निर्माण, कार्यान्वयन तथा मूल्याङ्कनका क्षेत्रमा समेत सहकार्यलाई निरन्तरता दिइने जनाइएको छ ।
मधेश प्रदेश कृषि विश्वविद्यालय मधेश प्रदेश सरकारद्वारा २०७८ मंसिर २७ गते भएको थियो । कृषि प्रधान यस क्षेत्रमा कृषि र पशु विज्ञानका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले यस विश्वविद्यालयको गठन गरिएको हो ।
स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहमा गुणस्तरीय र व्यावहारिक शिक्षा, नवीन अनुसन्धान तथा प्रविधि प्रसारमा जोड दिने विश्वविद्यालयको उद्देश्य रहेको छ । हाल उक्त विश्वविद्यालयले बीएससी एजीको अध्ययन अध्यापन गराउँदैआएको छ ।