राजविराज, १० साउन । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर–२ स्थित पौवाँ टोलमा शनिवार विहान करेन्ट लागेर पति–पत्नीको मृत्यु भएको छ ।
ई रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर ४२ वर्षिय कैला भनिने बालेश्वर खंग र ३८ वर्षिया रामकुमारी खंगको मृत्यु भएको हो । प्र.१ ०२ ००४ ह ६५२२ नम्बरको आफ्नै ई–रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको परिवारजनले जनाएको छ ।
परिवारजनका अनुसार रिक्सा चलाएर घर फर्केपछि रातीको समयमा सदा झैं विद्युतबाट रिक्सा चार्ज गर्ने क्रममा रिक्सामा विद्युत प्रवाह भई बालेश्वरलाई करेन्ट लागेर मृत्यु भएको हो । घर अगाडि रहेको कठघराबाट निकालिएको विद्युतीय तारमा रिक्सा चार्जमा लगाउन गएका बालेश्वरलाई किन ढिलो भएको हो ? भनी खोज्न जाँदा उनी ढलेको देखेर छुटाउने क्रममा रामकुमारीलाई पनि करेन्ट लागेको हुनसक्ने रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले जानकारी दिएका छन् ।

खंग दम्पत्तिलाई राती नै करेन्ट लागे पनि विहान करिब ४.०० बजेतिर जेठो छोरा सुरजले बुवालाई करेन्ट लागेको भनी जानकारी दिएपछि हतार–हतार उठाउने क्रममा चोट लागेर आफु पनि घाइते भएको छिमेकी प्रमिला कुमारी खंगले बताइन् । आफु हेर्न जाँदा बालेश्वर र रामकुमारी रिक्सामुनि ढलेको जानकारी दिँदै उनले भनिन् –‘मैले करेन्ट छुटाउन जाँदा झट्का लागेर म पनि घाइते भएँ, जेठो छोरा सुरजले विद्युत लाइन काटेपछि छरछिमेकको सहयोगमा दुवैजनाको शव रिक्सामुनिबाट बाहिर निकालियो ।’
घटनाबारे जानकारी पाएलगत्तै पालिकाका अध्यक्ष दिनेश कुमार यादव घटनास्थल पुगेका थिए । उनका अनुसार केही महिनाअघि बालेश्वरले ई–रिक्सा किनेर राजविराज लगायतका क्षेत्रमा चलाउँदैआएका थिए । परिवारको एक्लो सहाराको रुपमा रहेका बालेश्वर र पत्नी रामकुमारीको एकसाथ मृत्यु भएपछि छोराछोरीमाथि बज्रपात नै परेको छ ।
१९ वर्षिय जेठो छोरा सुरजको विवाह केही महिना अघिमात्र भएको थियो । सात वर्षिय कान्छो छोरा जन्मजात वाक अक्षम (आवाज विहिन) रहेको तथा घरको अवस्था पनि अत्यन्त कमजोर रहेको पालिका अध्यक्ष यादवले जानकारी दिएका छन् । खंग दम्पत्तिको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ ।
यता खंग दम्पत्तिको शवलाई पोष्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
