कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या १०२ पुग्यो [कुन प्रदेशमा कति?]

जनकपुरधाम। कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण नेपालमा शनिवार थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालायका अनुसार योसँगै मृतकको संख्या १०२ जना पुगेको छ ।

पछिल्लो पटक पर्सा, धनुषा र कपिलवस्तुमा १-१ जना गरी थप ३ जनाको मृत्यु भएको मन्त्रालायका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । उनका अनुसार पर्साको विरगञ्ज महानगरपालिका वडा नम्वर १२ का ६० वर्षीय पुरुषको साउन ३० गते नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी, धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्वर ४ का ५० वर्षिय पुरुषको साउन २९ गते कोरोनाबाट मृत्यु भएको छ । कपिलवस्तुको मायादेवी वडा नम्वर ७ का ४० वर्षिय पुरुषको साउन ३१ गते उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको जनाएको छ।

हालसम्म प्रदेश १ मा ९ जना, प्रदेश २ मा ४४ जना, बागमती प्रदेशमा १८ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा १३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । जसमा ८० जना पुरुष तथा २२ जना महिला रहेका छन् ।

कोरोना संक्रमितको २६ हजारबढी, १७ हजारबढी निको भएर घर फर्किए

मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २६ हजारबढी भएको छ । पछिल्लो पटक ४ सय ६८ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २६ हजार १९ पुगेको हो ।

शनिबार भएका ११ हजार ४७ पीसीआर परीक्षणमा ४ सय ६८ जनामा संक्रमण देखिएको जनाएको छ । यसैगरी, हालसम्म देशभरका विभिन्न अस्पतालबाट १७ हजार २ सय १ जना निको भएर घर फर्किएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस