ज्वरो र श्वासप्रश्वासको समस्या देखिएर मृत्यु भएका युवकमा कोरोना पुष्टि

राजविराज । सप्तरीमा ज्वरो र श्वासप्रश्वासको समस्या देखिएर मंगलवार मृत्यु भएका युवकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

मंगलवारै राति स्वाब संकलन गरी परीक्षण गराइएकोमा बुधवार साँझ उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनीयालाल यादवले जानकारी दिए ।

राजविराज नगरपालिका ४ का २८ वर्षीय युवकमा ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि मंगलबार राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका लागि ल्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि युवकलाई थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लगिएको थियो ।

धरान पुर्याएलगत्तै युवकको मृत्यु भएपछि उनको शव राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याएर स्वाब संकलन गरिएको थियो । योसँगै सप्तरीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ जना पुगेको स्वास्थ्य प्रमुख यादवले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस