राष्ट्रपतिबाट पदक विभूषण पाउनेमा सप्तरीका दुई चिकित्सकसहित पाँच जना

राजविराज, ४ असोज । संविधान दिवस २०७७ को अवसरमा राष्ट्रपति विद्या देवी भण्डारीबाट पदक तथा विभूषणकालागि घोषणा गरिएको नामावलीमा सप्तरीबाट विभिन्न क्षेत्रमा योगदान पुर्याउँदैआएका पाँच जना परेका छन् ।

राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट समेत रहेका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. रणजित कुमार झा प्रबल जनसेवाश्री चतुर्थबाट विभूषित हुने भएका हुन् । उनी राजविराज नगरपालिका वडा नम्वर २ निवासी हुन् । पन्ध्र वर्ष अघि काठमाण्डौ स्थित टिचिङ्ग हस्पिटलमा मेडिकल अधिकृतबाट सेवा शुरुवात गरेका थिए ।

सप्तरीको कल्याणपुर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा वर्ष कार्यरत रहँदा डा. झा स्कलरसिपमा टिचिङ्गबाटै स्कलरसिपमा तीन वर्षे एम.डी. गरी पाँच वर्ष वीर अस्पतालमा काम गरे । सोही क्रममा साढे तीन वर्ष अघि वीर अस्पतालबाट सरुवा भई राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल आएका थिए । अस्पतालमा कोभिड १९ व्यवस्थापन संयोजक समेत रहेका डा. झा कोरोना भाइरसको न्यूनिकरण एवम् आइसोलेसन व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउँदैआएका छन् ।

यसैगरी जिल्ला समन्वय समिति सप्तरीमा नायव सुब्बा पदमा कार्यरत गङ्गाराम साहले जनसेवाश्री पञ्चमबाट विभूषित हुने भएका छन् । डाक्नेश्वरी नगरपालिका वडा नम्वर ७ ब्रहम्पुर निवासी उनी २०५७ सालमा तत्कालिन जिल्ला विकास समितिमा सेवा प्रवेश गरेका थिए । निमित्त मे.सु. डा. झा र ना.सु. साहको नाम जिल्ला प्रशासन कार्यालय सप्तरीबाट सिफारिस गरिएको थियो ।

यस्तै काठमाण्डौ स्थित शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत सह–प्राध्यापक सन्त कुमार दासको नाम सुप्रबल जनसेवाश्री तेस्रोबाट विभूषण एवम् पदककालागि चयन भएको छ । उनी छाती रोग विभागका प्रमुख समेत हुन् । राजविराज नगरपालिका वडा नम्वर २ निवासी डा. दास लामो समयदेखि चिकित्सा एवम् प्राध्यापनमा संलग्न छन् । नेपालमा पहिलो प्लाज्मा थेरापीबाट कोरोना भाइरसको उपचार गरी चर्चा पाएका छन् ।

बिराटनगर स्थित कोशी बक्राहा नदी व्यवस्थापन आयोजना मोरङ्गमा कार्यरत सिनियर डिभिजन इन्जिनियर भिलानन्द यादव प्रबल जनसेवाश्री चतुर्थबाट विभूषित हुने भएका छन् । सप्तरीको तिरहुत गाउँपालिका वडा नम्वर १ त्रिकोल निवासी उनी २०५३ सालमा ईन्जिनियरको रुपमा तत्कालिन सुदुर पश्चिमाञ्चल सिंचाई निर्देशनालय धनगढीबाट सेवा प्रवेश गरेका थिए । सि.डि.ई. यादव विगत एक वर्षदेखि कोशी बक्राहा नदी व्यवस्थापन आयोजना मोरङ्गमा सेवारत छन् ।

यसैगरी सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर १ निवासी भुलाई चौधरी समेत जनसेवाश्री पञ्चम उपाधीबाट विभुषित हुने भएका छन् । समाजसेवी क्षेत्रबाट उनलाई विभूषित गरिएको हो । हाल चौधरी काठमाण्डौ महानगरपालिका वडा नम्वर ३२ काठमाण्डौमा बस्दैआएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस