मधेश आन्दोलनका अगुवा धर्मनारायणको कोरोना सङ्क्रमणबाट मृत्यु

राजविराज, १६ असोज । जनअधिकार वहालीकालागि भएका विभिन्न आन्दोलनहरुमा सप्तरीमा नेतृत्वदायी भूमिका निर्वाह गर्दैआएका नेता धर्मनारायण रायको शुक्रवार कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

सप्तरीका तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर ५ निवासी धर्मनारायण रायको ६६ वर्षको उमेरमा मृत्यु भएको हो । फोक्सो सम्वन्धी रोगबाट पीडित रहँदैआएका उनलाई एक साता अघि कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । बिराटनगर स्थित नोबेल हस्पिटलमा उपचारको क्रममा नेता रायको मृत्यु भएको हो ।

मधेशका मसिहा भनेर चिनिने स्व. गजेन्द्रनारायण सिंह नेतृत्वको सद्भावना पार्टीले सञ्चालन गरेको मधेशी जनताको हक अधिकारप्राप्तिको आन्दोलनमा सक्रिय भूमिका निभाएका थिए । २०४६ सालको जनआन्दोलन, तत्कालिन राजा ज्ञानेन्द्रको ‘कू’ विरुद्धको आन्दोलन, ‘२०६२÷०६३ को दोस्रो जनआन्दोलन तथा मधेश आन्दोलनमा समेत नेतृत्व गरेका थिए ।

तत्कालीन को.बर्साइन गाउँ विकास समितिका पूर्व अध्यक्ष राय जनता समाजवादीका नेता हुन् । नेता रायको निधनले एक अधिकारप्राप्तिको आन्दोलनका कुशल योद्धा गुमाएको भन्दै निधनप्रति जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले दुःख व्यक्त गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस