मन्दिरहरुमा पूजारीबाट मात्र पूजा गराउन स्वास्थ्य मन्त्रालयको आग्रह

राजविराज, २२ असोज । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै यसपालीको दशैंमा मन्दिर, मठ तथा शक्तिपीठहरुमा पूजारीबाट मात्र पूजा गर्न गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेका छन् ।

कोभिड १९ को विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गर्दैआएको विहीबारको नियमित प्रेस ब्रिफिङ्गमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यस्तो आग्रह गरेका हुन् । कोरोना सङ्क्रमण देशैभरी बढ्ने क्रममा रहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले मन्दिरहरुमा पूजारीले नियमित गर्ने व्यवस्था मिलाउन देशैभरिका मन्दिर व्यवस्थापन समिति, गठी, मन्दिर सुधार समिति, स्थानीय सरकार, स्थानीय प्रशासन, स्वयम्सेवक, सामाजिक अभियन्ता, धर्मगुरु, पूजारी समेतलाई सम्बोधन गर्दै आग्रह गरेका छन् ।

चाडपर्वका समयमा देश विदेशबाट आफन्तहरु आवत जावत हुने भएकोले देशको कुनाकाप्चामा समेत कोरोनो उच्च फैलिने जोखिम रहेकोले सकभर घरबाट बाहिर निस्किन प्रा.डा. गौतमले अनुरोध गर्दै भने ‘सकभर घरबाट बाहिर ननिस्किनुस्, निस्किनै परे अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुका साथै भौतिक दूरी कार्य गरौं र कम्तिमा २० सेकेण्डसम्म साबुन पानीले मिचीमिची हात धोऔं ।’ दैनिक उपभोग्यका सामानहरु खरिद गर्नुपरे अनलाइनबाटै तथा सम्भव नभए नजिकैको पसलबाट खरिद गर्न आग्रहसहित उनले सर्वसाधारणलाई सचेत गराएका छन् ।

लकडाउन खुलेपछि भीडभाड आवत जावत चुनौतीको रुपमा रहेकोले गम्भीरतापूर्वक सावधानी अपनाउनुपर्नेमा जोड दिँदै उनले आ–आफ्नो स्थानबाट सहयोग गर्न सबैसँग आग्रह गरेका छन् । विहीबारसम्म देशैभरि सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार नाघिसकेको समेत डा. गौतमले प्रेस ब्रिफिङ्गमा जानकारी दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस